काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । चार दिन लगातार बढेर बुधबार हालसम्मकै उच्च ३१२३.१५ अंकमा पुगेको नेप्से सूचक बिहीबार दोहोरो अंकले घट्दै १५.९८ अंकले घटेर ३१०७.४७ बिन्दूमा खुम्चिएको छ ।
गत जेठ ३१ मा ३०२५ अंकमा रहेको नेप्से असार २४ गते २७८६ सम्म झरेर उकालो चढेको बजारले बुधबार थप रेकर्ड कायम गरेपछि बिहीबार ओरालो लागेको हो ।
केही दिनयताको कारोबार प्रवृत्ति, सूचीकृत कम्पनीको वित्तीय विवरण प्रकाशनमा हुँदै आएको ढिलाइ, केही समयअघि नेपाल धितोपत्र बोर्डले निकालेको ५१ कम्पनीको सूचीको पनि कुनै अर्थ रहेन । ती कम्पनीहरुको मूल्यमा पनि उछाल देखिएको छ । जलविद्युत् क्षेत्रले अधिकतम उचाइ प्राप्त गरेको स्थितिजस्ता कारणले आगामी साता केही सुस्ताउने स्थिति आउन सक्छ ।
बिहीबार २ करोड ८८ लाख ४५ हजार सेयर कित्ता किनबेच हुँदा १४ अर्ब ३१ करोडको कारोबार भएको छ । यो कारोबार बुधबारको भन्दा थोरै हो । बुधबार १५ अर्ब ५९ करोडको कारोबार भएको थियो । नेपाल फाइनान्स र कर्णाली विकास बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जीवन विकास यसैसाता नेप्सेमा सूचीकृत भएको हो ।
यसैसाता सूचीकृत भएको अर्को युनियन लाइफको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै गुमाउने कम्पनीहरुमा जलविद्युत् समूहका छन् । सबैभन्दा मूल्य घटेको यूनिभर्सल पावरको ५.८५ छ भने मूल्य घट्न उच्च १० कम्पनीहरुमा जलविद्युत् समूह नै छन् । यसदिन माथिल्लो तामाकोसीको सबैभन्दा धेरै ६४ करोड ६५ लाखको कारोबार भएको छ भने उच्च १० कारोबार मध्ये ८ वटा जलविद्युत् नै छन् । यसदिन ६ अर्ब ६८ करोड ७८ लाख रुपैयाँबरारबको सेयर कारोबार जलविद्युत् समूहको छ । यो कुल कारोबार रकमको करिब ४७ प्रतिशत हो ।
वितेको करिब एक महिनामा ४ सय अंक हाराहारीले सूचक बढेको र अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएकाले लगानीकर्ताहरुमा तीब्र नाफा बुक गर्ने प्रवृत्ति देखिएको छ ।
खासगरी, जलविद्युत् र लघुवित्त संस्थाहरुको सेयर मूल्यमा तीब्र उतार चढाब देखिएको छ । लघुवित्त र जलविद्युत् कम्पनीको सेयरलाई लगानीकर्ताहरुले मूल्य अभिवृद्धि गरी छिटो नाफा कमाउने अस्त्रका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । त्यसैले यी क्षेत्रका अधिकांश कम्पनीहरुको मूल्य छिटो छिटो परिवर्तन भएको पाइन्छ ।
वाणिज्य बैंक समूहको सेयर मूल्यमा खासै परिवर्तन भएको पाइँदैन । पछिल्ला दिनहरुमा बिमा कम्पनीको सेयर पनि खासै चलेको छैन् । भटाभट लाभांश घोषणा भएका म्युचुअल फन्डमा पनि अपेक्षित चमक आएन । त्यसैले औसतमा सबै क्षेत्रको लाभांश २० प्रतिशतमा सीमित हुने सम्भावना छ ।
दीर्घकालीन लगानीकर्ताले वाणिज्य बैंकलाई आफ्नो पोटफोलियोमा राखिरहेका छन् भने अल्पकालिन लगानीकर्ताले मूल्यमा तीब्र घटबढ हुने कम्पनीहरु रोजिरहेका छन् । त्यस्ता कम्पनीहरुको आम्दानी के छ भन्नेसम्म पनि लगानीकर्ताले हेरेकोे पाइँदैन ।
यस्ता कम्पनीहरुको सेयर मूल्य घट्दा पनि ठूलै रफ्तार देखिन्छ भने बढ्दा पनि त्यही रफ्तार समाएको पाइन्छ । खासगरी, जलविद्युत्मा यो साता देखिएको सर्किट लेवलको वृद्धि र त्यही अनुपातको घटाइको रफ्तारलाई हेर्दा पनि पुष्टि हुन्छ ।