काठमाडौं । साताको पहिलो दिन आइतबार लघुवित्त कम्पनीहरुको मूल्यमा गिरावटले निरन्तरता पाएको छ । गत बिहीबार पनि लघुवित्त कम्पनीहरुको मूल्यमा गिरावट आएको थियो ।
गत साता गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा कडा नियमनका बाबजुत लघुवित्त संस्थाहरुले मनग्य नाफा कमाएको भनेर असन्तुष्टि पोखेसँगै लघुवित्तको सेयर मूल्य निरन्तर ओरालो लागेको हो ।
गभर्नरको सार्वजनिक अभिव्यक्ति अघि गत साताका सुरुका दिन लघुवित्तको सेयरमा चकम छाएको थियो । तर, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत थोक कारोबार गर्ने लघुवित्त कम्पनीहरुलाई हकप्रदको अनुमति दिने आशयको अफवाह फैलिएपछि त्यसको समग्र प्रभाव अधिकांश लघुवित्तको सेयर मूल्यमा परेको थियो । तर, एकाएक संघीय संसद्मा लघुवित्तप्रति अधिकारीले कटाक्ष गरेपछि निरन्तर ओरालो यात्रामा छ । कतिपय सञ्चारमाध्यम र लगानीकर्ताले गभर्नरको भनाइलाई बङ्ग्याएर प्रस्तुत गर्दा सामान्य लगानीकर्ता बढी ‘प्यानिक’ देखिएका छन् ।
हतारमा सेयर बेच्ने यही साताकै अन्त्यतिर पछुताउनुपर्ने स्थिति आउन सक्छ । खेडालीहरुले कुनै मुँद्दा पाउने बित्तिकै त्यसलाई उछालेर मूल्य घटाउने र आफूहरु बजार प्रवेश गर्ने दाउमा रहन्छन् । सेयर बजारको चरित्र पनि हो । यस्तो बेला लगानीकर्ताहरु संयमित र धैर्य हुनुपर्छ । आफ्ना सेयरमा मूल्य अभिवृद्धि भएको छ भने बढेको बजारमा बिक्री गर्दै हतारमा अर्को सेयर नकिनी केही समय रोकिने र फेरि घटेको बजारमा किन्ने गर्दा बढी फाइदा हुन्छ ।
राम्रो प्रतिफल दिइरहेका र केन्द्रीय बैंकको कडा नियमनमा रहेका लघुवित्त घटिरहँदा जलविद्युत क्षेत्रका कम्पनीहरुको मूल्यमा उछाल कायमै छ । लगानीकर्ताहरुले मूल्य अभिवृद्धि गर्ने क्षेत्रका रुपमा जलविद्युत् कम्पनीहरुलाई रोजेको देख्न सकिन्छ । तर, वित्तीयस्थिति, सञ्चालक समिति, कम्पनीको लक्ष्य, विगतको प्रतिफल दर, आगामी कार्य योजनाजस्ता विषय नहेरी मूल्य बढ्छ भन्ने प्रायोजित हौवाका भरमा लगानी गर्दा जुनसुकै बेला जोखिम बहन गर्नुपर्ने हुन्छ ।
उच्च मूल्य घट्ने १० कम्पनीमध्ये ६ वटा लघुवित्त छन् । यद्यपि, सबैभन्दा बढी मूल्य घट्नेमा एनआईसी डिबेञ्चरको ७.३७ प्रतिशत छ भने त्यसलाई पच्छ्याएको गुराँस लघुवित्तको ४ प्रतिशत छ । यद्यपि, आइतबारको कारोबारमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने सामान्य अंकले (०.६६) बढेको छ । नेप्से बढ्दा ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने ३ वटा कम्पनी सर्किट लेवलमा कारोबार भएको छ ।
१० वटा उच्चमूल्य वृद्धि भएका कम्पनी मध्ये ५ वटा जलविद्युत् क्षेत्रका छन् । बिहीबार ३१०७ मा रोकिएको नेप्से सूचक आइतबार कारोबार खुल्ने बित्तिकै ३११७ अंकमा पुगेको थियो । तर, लगत्तै घटाइ र बढाइमा तीब्रता कायम रह्यो । आधा घण्टामा ३१२० सम्म पुगेको नेप्से सूचक फेरि २ घण्टापछि ३१२१ सम्म पुग्यो । तर, त्यसपछि निरन्तर ओरालो यात्रामा देखिएको नेप्से ३०९९ अंकसम्म पुग्यो ।
अन्तिम १४ मिनेटमा बजार ८ अंकले बढाएर ३१०८.१३ बिन्दूमा कारोबार रोकिएको छ । आइतबारको कारोबार प्रवृत्ति र अवस्था नियाल्दा बजार घटाउने पक्षहरु सक्रिय रहे पनि नसकिरहेको देखिन्छ । यद्यपि, यस्तो बेला लगानीकर्ताहरुले आफू सुरक्षित रहँदै खरिद र बिक्रीमा सक्रिय हुनुपर्छ ।
सूचीकृत कम्पनीहरुको वित्तीय विवरण प्रकाशित हुने चरण रहेकाले अझ लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ । किनभने, चौथो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ताले अपेक्षित प्रतिफल पाउने हो ।
वर्ष प्रतिफल नपाउने स्थिति देखिएका कम्पनी एक वर्षसम्म बिना प्रतिफल पाल्नुपर्ने स्थिति आउँछ । आर्थिक वर्षको सुरुवाती चरण भएकाले वित्तीय विवरणका आधारमा मूल्यमा खेल्ने क्रम तीब्र हुन्छ । र, लगानीकर्ता वास्तविकता अध्ययन गरी लगानी गर्न सके छिटै प्रतिशत पाउन सक्छन् । आइतबार २ कराेड ६९ लाख ३९ हजार सेयर किनबेच हुँदा १४ अर्ब ३० कराेड ८१ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।