काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोही कसैलाई आक्षेप लगाउने र पूर्वाग्रह राखेर आफूले यथार्थपत्र (श्वेतपत्र) नल्याएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफमा अर्थमन्त्री शर्माले भने, “यो आग्रह पूर्वाग्रह र आक्षेप लगाउने विषय होइन, मुुलुकको अर्थतन्त्रको वास्तविक तस्विर पेश गरिएको छ ।” आफूले जस्ताको तस्तै तथ्य प्रस्तुत गरेको उल्लेख गर्दै उनले अघिल्लो सरकारले गरेको कामलाई समेत यथार्थपत्रमा प्रस्तुत गरेको स्पष्ट पारे ।
कोरोनाविरुद्धको खोप अहिलेसम्म के कति आयो र कतिले लगाए भन्ने तथ्याङ्क यथार्थपत्रमा राखिएको मन्त्री शर्माको भनाइ थियो । “तथ्याङ्क बङ्ग्याउने काम भएको छैन”, उनले भने, “यो प्रतिशोधपत्र होइन, देशको ऐना हो ।” कोरिया जानबाट वञ्चित युवाका विषयमा सम्बन्धित पक्षसित आवश्यक छलफल भइरहेको मन्त्री शर्माले बताए । उक्त विषयमा कोरियाली राजदूतसित समेत छलफल भएको उनले स्पष्टपारे ।
सरकारले कोरोनाको तेस्रो लहर आउनेतर्फ सचेतता अपनाएको स्पष्ट पार्दै मन्त्री शर्माले त्यसका लागि १९ अर्ब रुपैयाँ बजेट छुट्टयाइएको जानकारी दिए । उनले कोरोना प्रभावितका लागि छिट्टै आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार रहेको उल्लेख गरे। सरकार आयात कम गर्न उत्पादन केन्द्रित अभियान सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री शर्माले सुनाए।
सांसदहरु महेश बस्नेत, खगराज अधिकारी, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, पदम गिरी, गजेन्द्रबहादुर महत, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मनकुमारी जिसी, पार्वता डिसी चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश रसाइली स्नेही, अमनलाल मोदी, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मा, मोहन पाण्डे र लालबहादुर थापाले यथार्थपत्रका बारेमा जिज्ञासा राखेका थिए । रासस