काठमाडौं । पछिल्लो समय डोकोमा तरकारी बेच्दै हिड्नेदेखि सडकको छेउ तथा कुनामा बसेर जुत्ता सिलाउनेसम्म दोस्रो बजारमा सक्रिय छन् । त्यति मात्रै होइन् विदेशी भूमिमा अहोरात्र पसिना बगाइरहेकादेखि किसानले ज्यालाबापत प्राप्त गरेको पैसा यही सेयर बजारमा लगानी गरेको छ ।
उनीहरुले बैंकमा डिपोजिट गर्दा हुने आम्दानी सेयरबाट हुने आम्दानी केही प्रतिशत बढि हुने आशासहित बजारमा लगानी गरेका हुन् ।
पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तरको तेजीका कारण उनीहरुको सहभागिता उत्साहजनक छ ।
खासगरी, सरकारले सेयर किनबेच गर्ने सिष्टमलाई अनलाइन गरेपछि धेरै साना लगानीकर्ताको सहभागिता बढेको नियामक निकाय धितोपत्र बोर्डको भनाइ छ ।
अनलाइनबाट सेयर किनबेच गर्न सजिलो छ । आइपीओ भर्न पनि अनलाइनबाटै सकिन्छ । आफूलाई आइपीओ परे/नपरेको जानकारी पनि अनलाइनबाटै लिन सकिने भएकाले आफूसँग २/४ हजार रुपैयाँ हुनेले पनि सेयर बजारमा लगानी गरेको देखिन्छ ।
अहिले बैंकमा पैसा जम्मा गर्दा ३/४ प्रतिशतको रिटर्न छ । तर, त्यही पैसा सेयर बजारमा लगानी गर्दा कम्तिमा पनि १० देखि १५ प्रतिशतको रिटर्न हुने भए पनि धेरैजसो नेपाली सेयरबजारतिर आकर्षित भएका हुन् ।
गाउँ गाउँबाट सेयर बजारमा भएको लगानीबाट राज्यले पनि राम्रै राजस्व संकलन पनि गरिरहेको छ । गत आर्थिक वर्षमा मात्रै सरकारले झण्डै १७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
सरकारले सेयर बजारमा आकर्षित गर्ने बजेटमै उल्लेख गरेको छ । तर, केन्द्रीय बैंकले सेयर बजारका लगानीकर्तालाई निरुत्साहित गर्ने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय संस्थाबाट १२ करोड रुपैयँसम्म ऋण लिन पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, बजारमा लगानीयोग्य रकम नै नहुने गरी मौद्रिक नीति जारी गरे पनि त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने सम्भावना छ ।
अहिले झण्डै १२ लाख मान्छे दोस्रो बजारमा कारोबार गर्छन् । मेरो सेयर प्रयोगकर्ताको संख्या ३० लाख भन्दा माथि पुगिसकेको छ । डिम्याट अकाउन्ट पनि झण्डै ४० लाख हाराहारी पुगिसकेको अवस्था छ ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारका लगानीकर्तालाई भोटबैंकका रुपमा हेरेको र बजारलाई नकारात्मक प्रभाव पार्ने गरी नीति नल्याउन केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बारम्बार सचेत गराएका थिए । पौडल आज पनि बजार मैत्री अर्थमन्त्रीको परिचय बनाएका व्यक्ति हुन् ।
तर, अधिकारी साना लगानीकर्ताले कमाएको देखिनरहने व्यक्ति हुन् भनेर लगानीकर्ताबीच चर्चा हुन्छ । अरुले कमाएको डाहा गरेर यस्तो नीति अख्तियार गर्न नहुने उनीहरुको भनाइ छ ।
केन्द्रीय बैंकले बजारलाई प्रभावित बनाउने गरी नीति ल्याउँदा लगानीकर्तालाई क्षणिक रुपमा नोक्सान होला । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको भोटबैंक नै विग्रिन सक्ने ठूला लगानीकर्ता निर्मल प्रधान बताउँछन् ।
‘आजको दिनमा सेयर बजार भनेको हरेक राजनीतिक दलको ठूलो भोट बैंक हो,’ उनले भने, ‘सरकार चलाउनेले यो विषयलाई गम्भीर रुपमा नलिने हो भने आउँदै गरेको चुनावमा ठूलो क्षति ब्यहोर्ने देखिन्छ ।’
अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीलाई सीडी रेसियो र कर्जाको सीमाका बारेमा गतल ब्याख्या गरेर मौद्रिक नीतिमा यस्ता व्यवस्था ल्याइएको हो । शर्माले बजारलाई प्रभावित हुने गरी नीति नल्याउन गभर्नर अधिकारीलाई निर्देशन दिए पनि अधिकारीले घुमाउरो पारामा बजार प्रभावित बनाउने गरी नीति ल्याएका छन् ।