काठमाडौं । साताको पहिलो दिन आइतबार अन्ततः सेयर बजारले मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएको छ । शुक्रबार जारी मौद्रिक नीतिले सेयर धितो ऋणमा कडाइ गर्दै समग्रमा कर्जा संकुचित नीति अख्तियार गरेपछि त्यसको असर सेयर बजारमा परेको हो ।
यद्यपि आइतबारको कारोबारमा भने उछाल आएको छ । आइतबार २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो रकम हालसम्मकै उच्च हो ।
यसअघि जेठको अन्तिममा १९ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । आइतबार उत्पादन तथा प्रशोधनमूलक, लगानी र लघुवित्त कम्पनीहरुको सेयर मूल्यले मौद्रिक नीतिलाई सकरात्मक रुपमा लिए पनि अन्य क्षेत्रमा भने नकरात्मक प्रभाव परेको छ ।
गत बिहीबार ३१७९ अंकमा रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक प्रिओपन सेसनमै घटेर ३१७० मा आएको थियो । कारोबार खुल्ने बित्तिकै ५ मिनेटमा ३१३७ सम्म झरेको नेप्से परिसूचक बिहीबारको भन्दा माथि ३१८७ अंकसम्म पुगेको थियो ।
तर, यसले निरन्तरता भने पाउन सकेन । निरन्तर घट्दो क्रममा रहेको बजार डेढ घण्टामा ३१०५ अंकसम्म झर्यो । यसरी हेर्दा उच्च विन्दुबाट ८२ अंकको गिरावट भएको देखिन्छ । त्यसपछि भने बजार बढ्ने र घट्ने क्रमकाबीच साढे २ बज्दा ३१७४ सम्म चढे पनि अन्तिम समयमा भने बिहीबारको तुलनामा साढे २४ अंकले घटेर नेप्से परिसूचक ३१५४.३४ अंकमा रोकिएको छ ।
कारोबार प्रवृति, लगानीकर्तामा देखिएको प्यानिक सेलको असर, खरिद गर्ने उपर्युक्त मौकाको खोजी जस्ता कारणले बजार सम्हालिने संकेत गरेको छ । यद्यपि सेयर धितोमा प्रतिव्यक्ति प्रतिसंस्था ४ करोड र प्रणालीभित्रको १२ करोड रुपैयाँ सीमाले बजारमा अझै दबाब राख्ने देखिन्छ ।
त्यस्तै मौद्रिक नीतिले लागू गरेको कर्जा निक्षेप अनुपातका कारण हुन सक्ने कर्जा संकुचन र त्यसले ब्याजदर बढाउन गर्ने मद्दतले लगानीकर्तालाई केही निराश बनाउने संभावना भने छ । तर, स्वलगानी र न्यून कर्जा उपयोग गरेका लगानीकर्ताहरुले कम्पनी छनौट गरेको अवस्थामा भने पछुताउनु पर्दैन ।
आइतबारको कारोबार प्रवृतिले सोमबार बजार नउठाए पनि स्थिर चरणमा रहने संकेत गरेको छ । आइतबार नेपाल बैंक एक्लैको १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । घट्दो बजारमा पनि नेपाल बैंकको सेयर मूल्यमा ७ प्रतिशतभन्दा बढीको वृद्धि देखिन्छ ।
दिनभरी घटेर कारोबार भएको सेयर बजारमा पनि खानीखोला, युनियन लाइफ र जीवन विकास लघुवित्तको भने १० प्रतिशतले बढेर सर्किट लागेर कारोबार भएको छ । त्यस्तै आइसीएफसी फाइनान्सको पनि साढे ९ प्रतिशतले मूल्य बढेको छ भने २० प्रतिशत बोनस सेयर घोषणा गरेको मिर्मिरे लघुवित्तको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ । ५९ कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ ।
उता बजार घटाउन आइतबार जलविद्युत कम्पनीहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । १० उच्च मूल्य घटेका कम्पनीहरुमा ७ वटा जलविद्युत कम्पनीहरु छन् । यद्यपी सबैभन्दा बढी एनआईबीएल प्रगति फण्डको साढे ८ प्रतिशतले मूल्य घटेको छ भने त्यसलाई पच्छाएको रिडी हाइड्रोपावरको साढे ८ प्रतिशतले मूल्य बढेको छ ।
आइतबार पनि कुल कारोबारको एक चौथाइ हिस्सा जलविद्युतले ओगटेको छ । जलविद्युतको मात्रै ५ अर्ब ४३ करोड ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जलविद्युतलाई पच्छाउँदै थोरै कम्पनीहरु सूचिकृत भए पनि विकास बैंक समूहमा ३ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।