काठमाडौं । ९० प्रतिशतभन्दा बढी भन्सार छलेर ठूलो परिमाणमा स्मार्टवाच नेपालमा भित्र्याउने हाइटेक मोबाइल्स प्रालि सृजना गुरुङ र वीरेन्द्रजंग पाण्डेको नाममा रहेको देखिएको छ ।
यो कम्पनी विगत ३ वर्षदेखि गैरकानुनी तवरबाट स्मार्टवाच भित्र्याएर बिक्री गरिरहेको रहस्य खुलेको हो । कम्पनीले विदेशका महँगा महँगा स्मार्ट न्यूनबिजीकरण गरेर नेपाल भित्र्याउने र मूल्य अभिवृद्धि कर (भ्याट) नदिई सामान बेच्ने गरेको पाइएको हो ।
कम्पनीमा गुरुङको नाममा ६९ हजार कित्ता सेयर देखिन्छ भने पाण्डेको नाममा ७० हजार कित्ता सेयर देखिन्छ । यही कम्पनीबाट अहिले न्यूनबिजीकरण गरेर ब्रान्डेड स्मार्टवाच भित्रिँदै आएका छन् ।
पाण्डे तथा गुरुङले एयरपोर्ट भन्सारका अधिकारीसँग सेटिङ मिलाएर ठूलो परिमाणमा सामान ल्याउने गरेका छन् । त्यही सामान विभिन्न अनलाइन प्लेटफममार्फत धमाधम बिक्री भइरहेको छ ।
भ्याट तथा भन्सार छली गरेर स्मार्टवाच ल्याउने र नेपालमा अनलाइनबाट व्यवसाय गरिरहेका व्यक्तिलाई बिना भ्याट सामान बेच्ने गरिएको छ । अनलाइनबाट व्यापार गरिरहेकाहरुले पनि सामान बेचे पनि भ्याट बिल नदिने गरेका छन् ।
पाण्डेले एयरपोर्ट भन्सारका कर्मचारीलाई हातमा लिएर न्यून मूल्यांकनमा स्मार्टवाच भित्र्याउने र बजारमा भ्याट बिल नदिई चर्को मूल्य लिएर बेच्ने गरेका छन् ।
‘एउटै घडीमा झण्डै ४२०० रुपैयाँ भन्सार छली भएको देखिन आएको छ,’ भन्सारकै एक अधिकारीले भने, ‘१२० डलर पर्ने घडी २ डलरमा भित्र्याएको छ । त्यसको अर्थ उसले एउटा स्मार्टवाचको २ डलरको भन्सार तथा भ्याट मात्रै तिर्छ । बाँकी ११८ डलरमा भ्याट तथा भन्सार छली हुँदै आएको हुन सक्ने देखिएको छ ।’
१४ हजार पर्ने स्मार्टवाचको भन्सार १४०० तिर्नुपर्ने हो । तर, यहाँ २ डलर मूल्यांकन गराएर २३ रुपैयाँ भन्सार तिरेर १४ हजार रुपैयाँ भन्दा मूल्य पर्ने स्मार्टवाच हाइटेकले धमाधम भित्र्याइरहेको छ ।
अनलाइन प्लेटफर्ममा बिक्री भइरहेको स्मार्टवाच पनि यही कम्पनीले आपूर्ति गर्छ । त्यही भएर कुनै पनि अनलाइनले स्मार्टवाच अर्डर गर्दा भ्याट बिल दिँदैनन् । एयरपोर्ट भन्सारका प्रमुख लक्ष्मी निरौलाले भन्सार छली गरेर भित्र्याउने कम्पनीमाथि निगरानी गरिरहेको बताए ।

यो पनि हेर्नुहोस
हाइटेक र माउन्ट एभरेष्टको कर छली धन्दा, नदेखे झैँ गर्छन् सरकारी अधिकारी
९० प्रतिशतसम्म भन्सार छलेर भित्र्याइन्छ स्मार्टवाच, भन्सारकै अधिकारीको मिलेमतो रहेको खुलासा