काठमाडौं । चीनको नानिङ सहरले पोखरा महानगरपालिकालाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नानिङ सहरले स्वास्थ्य सामग्रीअन्तर्गत ५ वटा अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार पिस, पीपीई सेट ५ सय पिस, मेडिकल पञ्जा ५ हजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
पोखरा पर्यटनपरिषद् र चाइना ओभरसिज एसोसिएसनको समन्वयमा उक्त स्वास्थ्य सामग्री परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरेका हुन् । उपप्रमुख गुरुङका अनुसार, पोखरा महानगरका–१३ वटा अन्तर्राष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न सहरसँग छन् ।
२०७४ पुस २६ गते पोखरा महानगर र चीनको नानिङ सहरबीच भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने उनको भनाइ छ । साथै उनले नानिङ सहरका मेयरलाई धन्यावाद पत्र पठाएर कोरोना संक्रमण कम भएपछि पोखरा भम्रणका लागि आमन्त्रण गर्ने बताएकी छन् ।
महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहने भएकाले प्राप्त सामग्रीलाई आवश्यकताको आधारमा वितरण गर्ने बताइएको छ । परिषद्का अध्यक्ष भट्टराईले उक्त सहर चीनको नमुना सहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित सहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
महामारीको कठिन समयमा २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेर मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको उनको भनाइ छ । रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न सहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोरोना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने जनाएका छन् ।
कार्यक्रममा चाइना ओभरसिज एसोसिएसनका अध्यक्ष चाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्षहरूको सहभागिता थियो ।