काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेका आयोजनाहरुबाट बिजुली उत्पादन घटेको छ । आफ्ना आयोजनाहरुबाट बिजुली उत्पादन घटेपछि प्राधिकरणको गत वर्ष भारतबाट विद्युत आयात ६३.४५ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा भारतबाट २ अर्ब ८२ करोड युनिट बिजुली आयात भएको छ । अघिल्लो वर्ष भारतबाट १ अर्ब ७३ करोड युनिट मात्र बिजुली आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष भारतबाट १ अर्ब ९ करोड युनिट बिजुली आयात भएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
गत वर्ष विद्युत प्राधिकरणका विद्युतगृहबाट ६.९६ प्रतिशतले घटेर २ अर्ब ८१ करोड युनिट मात्र उत्पादन भएको छ । अघिल्लो वर्ष ३ अर्ब २ करोड युनिट थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राधिकरणका आयोजनाबाट २१ करोड युनिट बिजुली उत्पादन घटेको उनले जानकारी दिए ।
प्राधिकरणले १४४ मेगावाटको कालिगण्डकी ए, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी, मोदीखोला, पुवाखोलालगायत साना ठूला विद्युतगृहबाट बिजुली उत्पादन गरिरहेको छ ।
प्राधिकरणको विद्युतगृहबाट उत्पादन घट्दै गएको छ भने निजी आयोजनाको बढ्दै गएको तथ्याँकले देखाएको छ । गत वर्ष निजी लगानीका आयोजनाहरुबाट उत्पादन ८.३६ प्रतिशतले बढेर ३ अर्ब २४ करोड युनिट बिजुली प्राप्त भएको छ । अघिल्लो वर्ष २ अर्ब ९९ करोड युनिट प्राप्त भएको थियो ।
गत वर्ष प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट बिजुली उपलब्ध भएको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष ७ अर्ब १४ करोड १० लाख युनिट उपलब्ध भएको थियो । यो परिमाण अघिल्लो वर्षको तुलनामा १४.८६ प्रतिशत हो ।
कुल ऊर्जा मध्ये प्राधिकरणको हिस्सा ३१.६६, भारतबाट आयातित बिजुलीको हिस्सा ३१.८३ र निजी क्षेत्रको ३६.५१ प्रतिशत रहेको छ । गत वर्ष बिजुली चुहावट १.५१ प्रतिशतले बढेर १७.१८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष चुहावट १५.२७ प्रतिशत थियो ।
गत वर्ष विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट हुने आम्दानी ६.५९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ७६ अर्ब ३१ करोड रुपैयाँ थियो । बिजुली खरिदमा मात्रै १८ प्रतिशत बढेर ४१ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस्तै अघिल्लो वर्ष ३५ अर्ब १२ करोड रुपैयाँ थियो ।
नाफा ६९.९४ प्रतिशतले घट्यो
गत वर्ष विद्युत प्राधिकरणको नाफामा ६९.९४ प्रतिशतले भारी गिरावट आएको छ । गत वर्ष प्राधिकरणले ३ अर्ब ५१ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्ष ११ अर्ब ६८ करोड रुपैयाँ थियो । गत वर्ष प्राधिकरणको खुदनाफा ८ अर्ब १७ करोड रुपैयाँले घटेको छ ।