काठमाडौं । सबैभन्दा बढी नाफा कमाएको भनेर चर्चामा रहने बैंकको वित्तीय विवरणलाई लगानीकर्ताले लत्याएर जलविद्युत् क्षेत्रमै होमिएका छन् ।
समग्रतामा वाणिज्य बैंकको नाफा अर्बमा देखिएको र सबैको आँखा लागेको वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक भइसक्दा सेयर लगानीकर्ताले भने अरुचि देखाएका छन् ।
उनीहरुले कमजोर भनिएका र अझै पनि अवस्था एकिन नभएका भनिएका कम्पनीहरुमै पैसा खन्याएका छन् । केही समयअघि मात्रै बैंकहरुको नाफा अत्यधिक भएको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टाराईले गभर्नर महाप्रसाद अधिकारीलाई साक्षी राखेर अर्थसमितिमा आक्रोश पोखेका थिए । तर, त्यही बैंकहरुले लगानीकर्तालाई दिने लाभांश भने सन्तोषजनक नदेखिएपछि लगानीकर्ताहरुले तत्कालीक मूल्य अभिवृद्धिमा जोड दिँदै जलविद्युत्, विकास बैंक र वित्त कम्पनीमा होमिएका हुन् ।
जलविद्युत् कम्पनी धेरै भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सेयरको संख्या अत्यन्तै थोरै रहेको र त्यसमाथि सर्वसाधारणको हिस्सा झनै कमजोर भएको, विकास बैंक र वित्त कम्पनीको संख्या नै थोरै रहेको स्थितिमा मूल्य अभिवृद्धि मार्फत नाफा देखेपछि लगानीकर्ताहरु डाइभर्ट भएका हुन् ।
वाणिज्य बैंकहरुले १० प्रतिशत लाभांश दिने क्षमता राख्ने कम्पनीको मूल्य ४ सयभन्दा तल छ । तर, जलविद्युत् र विकास बैंक तथा वित्त कम्पनीहरुको मूल्य ७ सयभन्दा माथि छ । छिटोछिटो खेल्न सकिने, सानो समूहले नै मूल्यमा उतारचढाव बनाउन सक्ने देखिएपछि ती क्षेत्रका कम्पनीहरुमा निरन्तर उछाल आइरहेको छ । मंगलबार पनि लघुवित्तसहित जलविद्युत् र वित्त कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
१६ वटा कम्पनीको सेयर मूल्य सर्किट लागेकोमा १२ वटा कम्पनी जलविद्युत् क्षेत्रमा छन् भने एउटा वित्त कम्पनी र ३ वटा लघुवित्त कम्पनीमा पनि सर्किट लागेको छ । यद्यपि, यसदिन ८६ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ ।
बजार सूचक ०.२३ अंकले बढेको दिन वाणिज्य बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । यसदिन कारोबार भएका सबै वाणिज्य बैंकको सेयर मूल्य घटेको छ । यसले समग्रमा बैैैकिङ समूह सूचक २३ अंकले ओरालो लागेको छ । कारोबार रकम १८ अर्ब २० करोड पुगेको दिन मंगलरबार सबैभन्दा बढी कारोबार अपी हाइड्रो पावरको ८६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
१० उच्च कारोबारमध्ये जलविद्युत् समूहको मात्रै ७ वटा कम्पनी छन् । यसदिन जलविद्युत समूहको मात्रै ४ अर्ब ७८ करोडको कारोबार भएको छ । उता मूल्य घटेर कारोबार भएको वाणिज्य बैंक समूहको भने ३ अर्ब ५ करोड बराबरको सेयर किनबेच भएको छ ।
बजार मौद्रिक नीति पनि सुस्ताउन खोजे पनि सोमबार र मंगलबार भने स्थिर जस्तै देखिएको छ । सुरुमा उचाइ लिने, बीचमा ह्वात्तै घट्दै र अन्यमा सामान्य बढेर बजार बन्द हुने ट्रेन्ड समातेको छ ।