काठमाडौं । सरकारले मुलुकभित्रै बिजुलीको खपत बढाउन फरक–फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत खेर जान सक्ने अवस्थालाई मध्यनजर गरि आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताइन् ।
प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी भुसालले भनिन् ‘आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरि वर्षायाम र सुख्खायामको लागि फरक फरक विद्युत महशुल निर्धारण गर्ने र धेरै विद्युत खपत गर्ने ग्राहकलाई महशुलमा सुविधा दिने निर्णय भइसकेको छ, साथै आन्तरिक खपत पश्चात बढी भएको विद्युत छिमेकी देशहरुमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ, ।’
अबको २ वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिंदै भुसालले ‘बिदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन ।
‘यसबाट ग्यास खरिद बापत विदेशिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युतको उपभोग गर्न पाउँछन भने खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युतको उपयोग हुनेछ र प्राधिकरणको आम्दानी समेत बढ्ने छ’,उनले भनिन् ‘ नहर तथा कुलोबाट सिंचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिंचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिचाइमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ ।’
‘नेपालको पानि जनताको लगानी’ कार्यक्रम अन्तर्गत जनताको लगानीमा अपर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोसी पाँचौ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीहरुको लगानीमा अपर मोदी ६० मेगावाटको आयोजनालाइ निर्माणमा लगिने मन्त्री भुसालले बताइन् ।
\उनले बुटवल–गोरखपुर, केरुंग (चीन)–रातमाटे जस्ता अन्तरदेशीय र पुर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रशारण लाईनहरुको निर्माण गरि उत्पादित विद्युत खेर नजाने साथै छिमेकी देशहरुमा समेत विद्युत व्यापारको ढोका खोल्ने कार्य गर्न जरुरी रहेको उल्लेख गरिन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत एवं सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण तत्काल अगाडि बढाउनु पर्ने बताए ।
प्रसारण तथा वितरण संरचनाको अभावमा उद्योगहरुलाई माग अनुसारको विद्युत् उपलब्ध गराउन नसकेको उल्लेख गर्दै कार्कीले विद्युत खपत बढाउने कार्ययोजना कार्यान्वयनमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने बताए ।
विद्युत माग र खपत वद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्ण आचार्यले विद्युत खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तिब्रता दिन सुझाव दिए।
९० प्रतिशत जनसंख्या बिजुलीको पहुँचमा
विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत गर्ने ग्राहकहरूको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ ।
समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आर्थिक ०७७/०७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पुर्याइएको छ ।