काठमाडौं । जलविद्युत कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि विद्युत नियमन आयोगले अध्ययन गरेर मात्र लगानी गर्न भनेको छ । आयोगले जलविद्युत कम्पनीको १६ वटा सूचकहरुको गहन अध्ययन गरेर मात्र लगानी गर्न अनुरोध गरेको छ ।
पछिल्लो समय जलविद्युत कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए । उनले जानजान लगानीकर्तालाई झुक्याउने, बहकाउने र त्रुटिपूर्ण सूचना प्रवाह गर्ने जलविद्युतका प्रवद्र्धक तथा उत्पादक कम्पनीलाई कारवाही गर्ने जानकारी दिएका छन् ।
खुदसम्पत्ति ऋणात्मक भएका कम्पनीहरुको पनि सेयर मूल्यमा उछाल आएको निश्कर्ष आयोगको छ । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत कम्पनीका सेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । सेयर बजारमा जलविद्युत कम्पनीका सेयर कारोबारमा अस्वाभाविक चलखेल भएको प्रष्ट देखिएको छ ।
नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा हालसम्म ४० वटा कम्पनीका सेयर कारोबार भइरहेको छ । लाभांश नदिने र क्षमता नभएका अधिकाँश कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको आधारभूत अवस्थाको विश्लेषण गरेर लगानी गर्नु लगानीकर्ताको हितमा भएको सिंहले जानकारी दिए ।
कम्पनीको प्राविधिक तथा वित्तीय अवस्थाको मध्यनजर गरी तथ्यपरक सूचनामा आधारित भएर कम्पनीले दिनसक्ने प्रतिफललाई आधारमानी लगानी गर्न आयोगले अनुरोधसमेत गरेको छ ।
सेयर खरिद गर्नुअघि कम्पनीको चुक्ता पुँजी र नेटवर्थ, प्रतिसेयर आम्दानी, चालु सम्पत्ति र दायित्व, तरलताको अनुपात, आयोजनाको निर्माणमा भएको प्रगति, उत्पादन हुने बिजुलीको प्रसारण लाइनको अवस्था, समयमा आयोजनाबाट बिजुली उत्पादन हुने वा नहुने र समयमा बैंकबाट लिएको ऋण तिरेको वा नतिरेको हेर्न आयोगले लगानीकर्तालाई सुझाएको छ ।
यस्तै आयोजनाले गर्ने नाफा र सेयरधनीलाई दिने लाभांश, कम्पनीको व्यवस्थापन, आयोजनाले पूर्ण क्षमताका बिजुली उत्पादन गरिरहेको वा नगरेको, आयोजनाको प्रतिमेगावाट लागत, ऋण तथा इक्विटी अनुपात कम्पनीले बैंकबाट लिएका ब्याजदरको उचित मूल्याँकन गरेर मात्र जलविद्युत कम्पनीमा लगानी गर्न अध्यक्ष सिंहले सुझाएका छन् ।
ऋण तिर्न नसक्ने, प्रतिसेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको सेयरमा उछाल आएको तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउन थालेको छ । पछिल्लो दुई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
विद्युत नियमन आयोग ऐन, २०६४ र नियमावली, २०७५ अनुसार जलविद्युत विकासकर्ताले साधारण सेयर जारी भएको तीन वर्षपछि आफ्नो सेयर बिक्री गर्न पाउँछन ।
तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले सेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा हकप्रद र बोनस सेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा सेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको छ ।
