काठमाडौं । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुको सेयर किन्दा १६ सूचक हेर्न लगानीकर्तालाई आग्रह गरेसँगै सेयर बजार सूचक ओरालो लागको छ । निरन्तर जलविद्युत क्षेत्रका कम्पनीहरुको सेयर मूल्य उकालो लागेको र कारोबारमा समेत उच्च वृद्धि भइरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक पनि उकालो चढिरहेको थियो ।
बुधबार ३२२० मा पुगेको सूचक ३१९८ मा रोकिएको थियो भने बिहीबार पनि ३२२७ अंकसम्म पुगेको सूचक झरेर ३१८०.७८ अंकमा रोकिएको छ । ३२०० अंक पार गरेर बजार अघि बढ्न खोजे पनि टिक्न भने सकेको छैन ।
अझ बिहीबार जलविद्युत क्षेत्रको नियामक आयोगले जलविद्युत क्षेत्रका कम्पनीहरुमा लगानी गर्दा विभिन्न १६ वटा सूचकहरुलाई अध्ययन गर्न सार्वजनिक आब्हान गरेपछि विद्युत क्षेत्रमा आतंक सिर्जना भएको हो ।
त्यसले जलविद्युत क्षेत्रका कम्पनीहरुमा पहिरो नै गएको छ । विगतमा सेयर बजार घट्दा पनि नारात्मक सर्किट लागेर कारोबार हुने स्थिति थिएन । तर, बिहीबार पञ्चकन्या माइ हाइड्रोपावर र खानीखोलाको सेयर मूल्य १० प्रतिशतले घटेर कारोबार भएको छ ।
जलविद्युत कम्पनीहरुले विद्युत उत्पादन भए पनि प्रसारण लाइन नहुँदा केन्द्रीय प्रसारणमा नजोडिदा पूर्वसहमतिअनुसार नेपाल विद्युत प्राधिकरणसँग खेर गएको बिजुलीको भुक्तानी देखाएर माग्ने भन्दै त्यसलाई वित्तीय विवरणमा देखाएर कम्पनीको अवस्था र प्रतिसेयर आम्दानीको स्थितिलाई मजवुत बनाएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
त्यसकै आधारमा कतिपय कम्पनीहरुको दैनिक रुपमा सकारात्मक सर्किट लागेर केही दिन कारोबार भएकोमा आयोगको निर्णयपछि नकारात्मक सर्किट लागेर कारोबार हुन पुगेको हो । खानीखोला हाइड्रोपावर प्रतिसेयर आम्दानी ७१ रुपैयाँ देखाएर सेयर मूल्यमा ठूलो चलखेल गरेका थिए । अन्य कम्पनीहरुको पनि अवस्था उस्तै छ ।
तर, बजारमा भने दिनहुँ जलविद्युतको चमक देखिएको थियो । खानीखोलाको सबालमा नेपाल धितोपत्र बोर्डलेसमेत स्पष्टीकरण सोधेको बुझिएको छ । प्रसारण लाइनको बहानामा विद्युत प्राधिकरणसँग माग गरिएको रकम नदिने प्राधिकरणले जनाएको छ । यस्ता केही विषयहरु आगामी दिनमा न्यायलयबाट टुंग्याउनु पर्ने हुन सक्छ ।
जलविद्युतमा आएका विभिन्न अफवाह र वास्तविकतासँगै उतारचढावको यात्राले निरन्तरता पाउँदै बिहीबार जलविद्युत क्षेत्रमा पहिरो गयो । त्यसको समग्र असर नेप्सेमा पनि पर्यो । यद्यपी जलविद्युतसँगै बैंकिङ, होटल तथा पर्यटन विकास बैंक, वित्त, उत्पादनमूलक तथा प्रशोधन, म्युचअल फण्ड र लगानी समूह सूचक पनि झरेका छन् ।
यसैको परिणाम बुधबारको तुलनामा नेप्से सूचक १८.२४ अंकले घटेको छ । बिहीबार १२२ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार जीवन विकास लघुवित्तको १० प्रतिशतले बढेर कारोबार भएसँगै लघुवित्त जीवन बिमा, निर्जीवन बिमा, व्यापार र अन्य समूह सूचक भने बढेका छन् ।
समग्रतामा ६१ कम्पनीको मूल्य बढे पनि बजार टिक्न सकेन । यद्यपि कारोबार रकम भने २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ भएको छ । बजार झरिरहेको अवस्थामा पनि कारोबार रकम भने जलविद्युत कम्पनीहरु नै उच्च देखिएको छ । उच्च १० कारोबारमा ७ वटा जलविद्युत कम्पनी छन् ।
संभवत पहिलो पटक अरुण कावेली पावरको १ अर्ब १६ करोड ७८ लाख र अरुण भ्याली हाइड्रोपावरको १ अर्ब १६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । जलविद्युत समूहको मात्रै ६ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार हालसम्मकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।