काठमाडौं । आयातकर्ताले एयरपोर्ट भन्सारका जाँचकीसँग साँठगाँठ गर्दै कर छली गरेर ठूलो परिमाणमा स्मार्टवाच भित्र्याएपछि त्यसलाई नियन्त्रण गर्न सूक्ष्म निगरानी गर्न थालिएको छ ।
आयातकर्तासँग जाँचकीले अप्रत्यक्ष ‘बेनिफिट’ लिएर कम मूल्यांकन गरेर स्मार्टवाच भित्र्याउन दिएपछि भन्सार प्रमुख लक्ष्मी निरौलाले त्यसलाई गम्भीर लिएर आवश्यक निगरानी बढाएका हुन् ।
९० प्रतिशतसम्म भन्सार करछली भएर स्मार्टवाच भित्रिएको प्रमाणसहित क्यापिटल नेपालले केही दिनअघि समाचार सार्वजनिक गरेको थियो । त्यसपछि भन्सार प्रमुख निरौलाले कुन कुन कर्मचारीको ‘नेक्सन’ कुन कुन व्यापारीसँग रहेको र कुन-कुन व्यापारीले न्यूनबिजीकरण गरेर महँगा महँगा स्मार्टवाच भित्र्याएको भरेर अध्ययन गरिरहेको बताए ।
‘एउटै मोडलमा मनलाग्दी मूल्यांकन गरेर स्मार्टवाट भित्र्याउन दिएको देखिएको छ,’ निरौलाले भने, ‘सेम मोडलको स्मार्टवाचमा कुनैको मूल्यांकन १२० डलर देखिन्छ भने कुनैमा ४ डलर पनि देखिएको छ । तथ्यांकलाई हेर्दा कर्मचारीकै मिलेमतोमा स्मार्टवाच न्यूनबिजीकरण भएर भित्रिएको आंशका गर्न सकिन्छ ।’
बारम्बार राजस्व छली परेका र मुद्दा खेपिरहेका व्यक्तिहरुले नै एयरपोर्ट भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर न्यून मूल्यांकन गरेर स्मार्टवाच भित्र्यारहेका छन् ।
ब्रान्डेड स्मार्टवाच २ देखि ४ डलर मूल्यांकनमा भित्रिएको वर्षौ भइसक्यो । तर, यहाँ ‘जेन्युन’ रुपमा स्मार्ट वाच भित्र्याउने पनि छन् । उनीहरुले त्यसरी भन्सार छली गरेर ल्याएका स्मार्टवाचसँग प्रतिस्पर्धा गर्नुपरेको छ ।
एयरपोर्ट भन्सार प्रमुख निरौलाका अनुसार एयरपोर्ट भन्सारबाट ठूलो परिमाणमा स्मार्टवाच भित्रिने गरेको तथ्यांकमा देखिन्छ । आधाभन्दा बढी स्मार्टवाच न्यून मूल्यांकनमा भित्रिने गरेका छन् भने केही मात्रै वास्तविक मूल्य देखाएर भित्रिने गरेको पाइएको छ ।
यसलाई रोक्न भन्सारले हरेक ब्रान्डको हरेक मोडल उल्लेख गर्नुपर्ने र जाँचकीले अनिवार्य रुपमा गुगल गरेर उक्त स्मार्टवाचको मूल्य पत्ता लगाउनुपर्ने र सोही अनुसार मूल्य निर्धारण गराउने विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ ।
भन्सार छली भएर भित्रिने स्मार्टवाच आधिकारिक सोरुमबाट बिक्री हुँदैनन् । त्यस्ता स्मार्टवाच अनलाइनमा बिक्रीका लागि राखिएका छन् । उनीहरुले पनि बिना मूल्य अभिवृद्धि कर (भ्याट) कारोबार गरिरहेका छन् । भ्याट बिल मागेको खण्डमा घडी दिन नसक्ने जनाउँछन् ।
फेसबुकका भित्तामा ब्रान्डेड स्मार्टवाच बिक्रीका लागि राखिएको भए पनि उनीहरु भ्याट बिल बिनै बिक्री गर्दै आइरहेको छन् । यसलाई पनि आन्तरिक राजस्व विभागले निगरानी गर्नुपर्ने देखिन्छ ।
यो पनि हेर्नुहोस
९० प्रतिशत भन्सार छली गरेर स्मार्टवाच भित्र्याउने हाइटेकका सञ्चालक को हुन् ?
९० प्रतिशतसम्म भन्सार छलेर भित्र्याइन्छ स्मार्टवाच, भन्सारकै अधिकारीको मिलेमतो रहेको खुलासा
हाइटेक र माउन्ट एभरेष्टको कर छली धन्दा, नदेखे झैँ गर्छन् सरकारी अधिकारी