काठमाडौ । अर्थ मन्त्रालयले अध्यादेश बजेटको तयारीका लागि अर्थ मन्त्रालयका महत्वपूर्ण विभागहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । बजेट निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बजेट महाशाखाको प्रमुखमा भुपाल बराल आएका छन् ।
त्यसैगरी, आन्तरिक राजस्व विभागमा शोभाकान्त पौडेललाई लगिएको छ । त्यहाँका महानिर्देशक झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । भन्सार विभागमा नारायण सापकोटालाई लगिएको छ । त्यहाँका महानिर्देशक यामलाल भुसाललाई मन्त्रालयमा ल्याइएको छ । आर्थिक नीति विश्लेषणमा सुमन दाहाल र प्रशासनमा केदारनाथ शर्मालाई ल्याइएको छ ।
सरकारले असोज २ गतेभित्र बजेट ल्याइसक्नुपर्छ । जेठ १५ मा आएको अध्यादेश बजेट साउन ३ गते संसदमा टेबल भएको थियो । तर, बजेट अध्यादेशका अंगहरु आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पारित नहुँदै यसैसाता संसद अधिवेशन अन्त्य भयो ।
संसदमा अध्यादेश टेबल भएको ६० दिनमा पारित नभए सो अध्यादेशले कामयावी नहुने कानुनी व्यवस्था छ । सुरुमा सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक ल्याउने भने पनि विधेयक अन्त्य भयो ।
अहिलेको परिस्थितिमा तत्कालै संसद बस्ने स्थिति छैन । यस्तो अवस्थामा सरकारले फेरि अध्यादेशबाट बजेट ल्याउनुपर्छ । बजेट तयारीका लागि एक महिनासमेत बाँकी नभएकाले हतारमा अर्थ मन्त्रालयमा सहसचिवहरु परिवर्तन भएका हुन् ।
यसअघि अर्थमन्त्रीले राजस्व दोब्बर बनाउने कार्ययोजना मागेका थिए । त्यसैले राजस्व बढाउन दबाब हुने किसिमले नयाँ व्यक्तिहरु राजस्वमा परिचालित हुने क्षेत्रमा पठाइएको छ ।