काठमाडौं । साताको तेस्रो दिन (कारोबार भएको पहिलो दिन) जलविद्युत् कम्पनीहरुको सेयर मूल्यमा पहिरो गएको छ । कारोबार सुरु भए देखि नै ओरालो लागेको जलविद्युत् क्षेत्रका कम्पनीहरुको सेयर मूल्य अन्तिम समयमा झन बढी ओरालो लागेका छन् ।
कारोबारका सुरुमा २/३ वटा कम्पनीमा मात्रै नकारात्मक सर्किट लागेको थियो । तर, कारोबार बन्द हुँदा २० कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै, थप पाँच कम्पनीमा ८ प्रतिशत, ३ कम्पनीको ७ प्रतिशत र थप ३ कम्पनीको ६ प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको छ ।
सेयर मूल्य घट्ने सूचीका ३१ कम्पनी निरन्तर जलविद्युत् छन् । त्यसैगरी, त्यसपछि बीच-बीचम विकास बैंक छिरे पनि जलविद्युत् कम्पनीकै बर्चश्व छ । लगातार उछालिएर कारोबार भएका जलविद्युत् कम्पनीहरुको वित्तीय विवरण प्रकाशित भएसँगै निरन्तर ओरालो लागेको छ ।
यसबीचमा विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले विभिन्न १६ वटा सूचक हेरेर मात्रै लगानी गर्न भनेर सार्वजनिक आह्रवान गर्यो । त्यसको असर गत बिहीबारको कारोबार पनि परेको थियो । जलविद्युत् कम्पनीहरुको सेयर मूल्य गिरावट सँगै समग्र बजारमा त्यसको असर परेको छ । बजार सूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दूमा रोकिएको छ ।
यसदिन जलविद्युत् कम्पनीहरुको गिरावटलाई साथ दिँदै अधिकांश क्षेत्रका कम्पनीहरुको मूल्य पनि ओरालो लागेको छ । त्यसले वित्त कम्पनी र निर्जीवन कम्पनीको समूह सूचक बाहेक अन्य समूह सूचकहरु राताम्मे भएका छन् । खासगरी, जलविद्युत् कम्पनीको उच्च नाफा सँगै उच्च बोनसदर र २ सय प्रतिशतसम्म हकप्रद सेयर दिने कम्पनीको अफवाह र विकास बैंकहरुमा पुँजी बढाउन हकप्रद दिइने अफवाहको सिकार सेयर बजार बनेको छ ।
विद्युत् नियमन आयोग र नेपाल राष्ट्र बैंकले कम्पनीहरुले भनेजस्तो सजिलै हकप्रद नदिने जनाउ दिँएसँगै बजारमा थप दबाब परेको हो । यद्यपि, केही समयदेखि निरन्तर उकालो चढिरहेको बजारले विश्राम खोजिरहेको थियो । स्मार्ट लगानीकर्ताहरुले नियमन आयोगको आह्रवान र राष्ट्र बैंकले मौद्रिक नीतिमा हकप्रदको सन्दर्भ उल्लेख नगरेको र तत्काल हकप्रद दिने कुनै सम्भावना नरहेको जनाए पछि लगानीकर्ता निराश बन्दा बजारमा भारी गिरावट आएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ठूला सेयर ऋणीहरुलाई कडाइ गर्ने नीति अख्तियार गरेसँगै कर्जालाई सीमाभित्र ल्याउन बैंकको सेयर धितो राख्ने र जलविद्युतको सेयर मूल्य उछालेर मूल्य अभिवृद्धि गर्दै नाफा खाने लगानीकर्ताहरु थप दबाबमा पर्दा जलविद्युत्को मूल्य त घट्यो नै त्यसले वाणिज्य बैंकको सेयर मूल्यमा समेत प्रभाव पार्यो ।
जसको असर मंगलबारको कारोबारमा पनि पर्यो । गतसाता हालसम्मकै उच्च ३१९८ अंकमा पुगेपछि करेक्सनको सम्भावना पर्खदै बसेको बजारले मौद्रिक नीति पछिको ब्याख्या र नियमन आयोगको आह्रवानालाई अश्त्र बनाएर बजार ओरालो लागेको हो ।
मंगलबारको कारोबार प्रवृत्ति हेर्दा यो साता बजार अझै घट्ने देखिन्छ । जलविद्युत् कम्पनी र विकास बैंक समूह सूचकमा अझै झट्का लाग्न सक्छ । एकैदिन २० भन्दा बढी कम्पनीको नकारात्मक सर्किटले पनि त्यसको संकेत गर्छ । यद्यपि, मंगलबार बिहीबारको तुलनामा सुरुवाती ४० मिनेटभित्र बजार बढेको देखिन्छ ।
तर, घटेकै बजारमा पनि गोर्खााज फाइनान्स र जीवन विकास लघुवित्तमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । यसदिन ३३ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको सेयर मूल्य भने घटेको छ । कुल १६ अर्ब १२ करोड ४४ लाख कारोबार भएको मगलबार अरुण भ्याली हाइड्रको सबैभन्दा बढी ७५ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।