काठमाडौं । निरन्तर जलविद्युत् कम्पनीहरुको सेयर मूल्यमा आएको भारी गिरावटका कारण सेयर बजार करेक्सनतर्फ उन्मुख देखिएको छ । मौद्रिक नीतिपछि पनि बजार केही बढेको थियो । तर, जलविद्युत् क्षेत्रको नियामक विद्युत् नियमन आयोगको सार्वजनिक आह्रवानपछि जलविद्युत् कम्पनीहरुमा भारी गिरावट आइरहेको छ । यद्यपि, यही अप्ठ्यारोमा पनि कतिपय कम्पनीहरुको मूल्य उचाल्ने प्रयास भइरहेको छ ।
जलविद्युत् ओरालो लाग्दा त्यसले अन्य क्षेत्रलाई पनि धक्का दिइरहेको छ । सतहमा जलविद्युत् देखिए पनि व्यवहारमा भने धितो राख्ने सेयरमा दबाब बढ्दा बजार प्रभावित भएको छ । खासगरी, मौद्रिक नीतिले ठूला लगानीकर्तालाई दिइने सेयर कर्जाको धितोमा सीमा कसेपछि वित्तीय क्षेत्र दबाबमा छ । यद्यपि, राष्ट्र बैंकले निर्देशनमार्फत एउटा व्यक्तिले प्रतिसंस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म ऋण पाउने र यसअघि तोकिएको सीमाभन्दा बढी ऋण लगेको भए एक वर्षभित्र सीमामा ल्याइसक्न भनेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सेयर लगानीकर्ताको समूह अर्थमन्त्री जनार्दन शर्मालाई भेट्न पुगेका थिए । त्यस अवसरमा अर्थमन्त्री शर्माले केन्द्रीय बैंकको नीति पुनरावलोकन हुने बताएको भनेर हौवा पिटिएको थियो । तर, मंगलबार साँझ निर्देशन आउँदा मौद्रिक नीतिकै स्प्रीडमा निर्देशन आए । त्यसको असर बुधबारको सेयर बजारमा परेको छ ।
असार २३ मा २८०१ मा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त्यसपछि निरन्तर बढ्दै भदौ २ मा ३२०० माथि पुगे पछि कारोबार बन्द हुँदा ३१९८.०६ बिन्दूमा रोकिएको थियो । यसबीचमा झण्डै ४ सय अंकले नेप्से सूचक बढ्दा ठूलो करेक्सन थिएन । त्यसैले यसपटक केही बढी करेक्सनको सम्भावना देखाएको छ ।
विभिन्न किसिमका अफवाहहरु फैल्याएर पूर्व नाफा लिइसकेका समूह अहिले अझै घट्ने चर्चा चलाइरहेका छन् । केही समय पछि वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्नेक्रम सुरु हुने भएकाले पनि त्यसअघि नै बजार तल झार्न सकिए खरिदको मौका लिएर राम्रो बोनस खाने दाउमा केही लगानीकर्ताहरु छन् ।
उनीहरुले नाफा बुक गर्दै जलविद्युत्बाट बाहिरिरहेका छन् र बैंकिङ समूहमा आँखा लगाइरहेका छन् । एकाध वित्तीयसंस्था बाहेक अधिकांश बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत भन्दा बढी बोनस सेयर दिने क्षमता राख्छन् । अहिले त्यही बोसन क्षमता भएका वाणिज्य बैंकको सेयर मूल्यभन्दा विकास बैंक, वित्त कम्पनी र जलविद्युत् कम्पनीको सेयर मूल्य धेरै माथि छ । थोरै सेयर हुनुको फाइदा उठाउँदै मूल्य अभिवृद्धिमा खेल्ने लगानीकर्ताहरु अहिले ती क्षेत्रबाट उम्किएर बैंकिङतर्फ केन्द्रित हुन खोजिरहेका छन् । जसले आगामी साता बजारलाई उकास्न सक्नेछ ।
भदौभित्र अधिकांश सूचीकृत कम्पनीहरुको लाभांश घोषणा हुने सम्भावना रहेकाले अघि नै बजारलाई घटाउन सकिए फेरि लगानी गर्ने अवसर आउने एकथरी लगानीकर्ताको बुझाइ छ ।
मंगलबार ५६ अंकले बजार झरेर ३१२४ मा रोकिएको बजार बुधबार कारोबार खुल्दा ३१२६ पुगेको थियो । तर, लगत्तै बजार घटेर ३०८२ सम्म झर्यो । फेरि बजार उक्लिने र ओर्लिने क्रमले निरन्तरता पायो । अन्तिम समयमा ३०६८ अंकसम्म झरेको बजार अन्तिममा केही सुधारिँदै ३०७६.४४ बिन्दूमा आइपुगेको छ । मंगलबारको तुलनामा बुधबार ४८.४२ अंकले सेयर बजार सूचक घटेको छ ।
सबै समूह सूचकहरु राताम्मे देखिएका छन् । कारोबार रकममा विस्तारै कमी आइरहेकाले सेयर बिक्री गर्ने लगानीकर्ताहरुले मुठी कस्न थालेको देखिन्छ । खरिदकर्ताहरुले अझ घटाएर सेयर हात पार्न भुम्मिरहेका छन् । त्यसको असर सेयर कारोबार रकममा कमी हुँदै गइरहेको छ । बुधबार १२ अर्ब ९ करोडमा सीमित भएको छ । गतसाता ३ दिनसम्म २० अर्बभन्दा बढीको कारोबार भएको थियो । मंगलबार पनि १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो ।
घटेको बजारमा पनि जीवन विकास लघुवित्त र आइसीएफसी फाइनान्समा सकारात्मक सर्किट लागेको छ । मंगलबार २० भन्दा बढी जलविद्युतको सेयरमा नकारात्मक सर्किट लागेकोमा बुधबार खानी खोला जलविद्युतमा मात्रै नकारात्मक सर्किट छ । यद्यपि, बुधबार जलविद्युतको सेयर मूल्य केहीको बढ्ने र केहीको घट्ने देखिएको छ ।