काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सूचक ४९.१६ अंकको हाराहारीमा घटेको छ । आइतबार बजार घटेसँगै पछिल्लो ५ कारोबार दिनमा मात्रै उच्च बिन्दुबाट १५३ अंकले नेप्से घटेको छ । पछिल्लो ४ कारोबार दिनमा ३ दिन लगातार ५० अंक हाराहारीमा नेप्से घटेको छ ।
भदौ २ गते हालसम्मकै उच्च ३१९८.६ बिन्दुमा रहेको नेप्से आइतबार ४९ अंकले घटेपछि ३०४४.९ अंकमा आइपुगेको छ । यद्यपि गत बिहीबार नेप्से सूचक १७.६ अंकले बढेको थियो ।
त्यसअघि गत सोमबार १८ अंकले बजार घटेको थियो । खासगरी मौद्रिक नीति जारी भएपछि बैंकिङ समूहमा दबाब छ भने विद्युत क्षेत्रको नियामक विद्युत नियमन आयोगले जलविद्युत क्षेत्रका कम्पनीहरुको सेयर खरिद गर्दा विभिन्न १६ वटा सूचकहरु हेर्न सार्वजनिक आब्हान गरेसँगै यसमा बढी चलखेल भएको छ ।
जलविद्युत क्षेत्रका कम्पनीहरुको सेयर मूल्य लगातार घट्ने र फेरी लगातार बढाउने खेलहरु खेल्न थालिएको छ । यसबीचमा सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडमा खेलिएको छ । खानीखोलाको वित्तीय विवरण प्रकाशित भएपछि यसको सेयर मूल्यलाई हालसम्मकै उच्च ५५६ रुपैयाँसम्म पुर्याइएको थियो ।
तर, नियमन आयोगको सार्वजनिक आब्हानसँगै त्यसको सेयर मूल्यलाई झारेर ३०० रुपैयाँ हारहारीमा ल्याइएको थियो । गत बिहीबार सकरात्मक सर्किट लगाइएको खानीखोलामा आइतबार पनि सकरात्मक सर्किछ लागेरै कारोबार भयो ।
पछिल्ला दिनमा एकदमै छिटोछिटो सेयर मूल्य बढ्ने कम्पनीहरु मध्ये खानीखोला अग्रपंतिमा छ । यद्यपी जलविद्युतका कम्पनीहरुमा लगानीकर्ताहरु बढी चलखेल गरिरहेका छन् । मूल्य अभिवृद्धि गर्ने क्षेत्रका रुपमा जलविद्युतलाई लिन थालिएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयरधितोमा दिइने एकल ग्राहक कर्जाको सीमा प्रतिसंस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँ बनाएसँगै बैंकिङ समूहको सेयरमा दबाब महशुस गरिएको छ । बैंकिङ समूह सूचक निरन्तर ओरालो लाग्दो छ ।
समग्रतामा हेर्दा जलविद्युत समूह सूचक उकालो लाग्दा अधिकांश समय बजार उकालो लागेको देखिन्छ भने जलविद्युत समूह ओरालो लाग्दा नेप्से सूचक पनि ओरालो लागेको देखिन्छ । गत बिहीबार जलविद्युत समूह सकरात्मक हुँदा नेप्से सूचक पनि बढेको थियो ।
तर, आइतबार जलविद्युत समूह सूचक घटेपछि बजार सूचक पनि ओरालो लागेको छ । यद्यपी आइतबार वित्त बाहेक सबै समूह सूचक ओरालो लागेका छन् ।
आइतबार कारोबार खुल्दा बिहीबारको तुलनामा करिब २० अंकले बढेर ३११५ अंकमा पुगे पनि बजार निरन्तर घट्दै गयो । र, अन्तिम आधा घण्टामा ३०३९ अंकसम्म झर्यो । त्यसपछि सामान्य बढ्न खोजेको बजारले अन्तिम समयमा घटेरै बन्द भयो । आइतबारको कारोबार प्रवृत्ति पछ्याउँदा मंगलबार बजार अझ घट्न सक्ने संकेत गरेको छ ।
सूचीकृत कम्पनीहरुको लाभांश घोषणाअघि बजार सूचक अझ घट्नेतर्फ अग्रसर भएको छ । साताको अन्तिमतिर भने बजार बढ्न सक्नेछ ।
आइतबार २ करोड ४८ लाख ८८ हजार कित्ता सेयर किनबेच भइ १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार गत बिहीबारको भन्दा झण्डै २ अर्बले बढी हो । गत बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसदिन पनि जलविद्युत समूहको कारोबारनै उच्च देखिएको छ । यो समूहको ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।
त्यसपछि वित्त कम्पनी समूहको २ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ । घट्दो बजारमा पनि खानीखोला र नारायणी विकास बैंकको सेयरमा सकरात्मक सर्किछ लागेर कारोबार भएको छ ।
रुरु जलविद्युत परियोजनाको नकरात्मक सर्किट लागेर कारोबार भएको छ । उच्च १० मूल्य घट्ने कम्पनीमा ८ वटा जलविद्युतका छन । आइतबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी १ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।