विराटनगर । विराटनगरमा ७ वर्षदेखि सञ्चालनमा आएको मेरिल्याण्ड कलेजलाई इनोभेट नेपाल ग्रुपले खरिद गरेको छ । ग्रुपले आफ्नो स्वामित्वमा लिएसँगै कलेजको नाम पनि परिवर्तन गरेको छ । विराटनगर इन्टरनेशनल कलेज नामबाट सञ्चालनमा आउने भएको छ ।
ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले कलेज पूर्ण रुपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा सञ्चालन हुने बताए । कलेजको ब्राण्ड “मेरिल्याण्ड कलेज विराटनगर” परिवर्तन भइ “विराटनगर इन्टरनेशनल कलेज” भएको छ ।
ग्रुपअन्तर्गत विराटनगर इन्टरनेसनल कलेज, इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज तथा अन्य विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु सञ्चालनमा रहेको बुढाथोकीले जानकारी दिए ।
शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मर्ने उदेश्यका साथ विश्वका बिभिन्न १८ देशमा समेत प्रयोग भईरहेको अनलाइन लर्निंङको लागि “माइ सेकेन्ड टिचर“ पनि सञ्चालनमा ल्याएको उनको भनाई छ ।
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसँगको सहकार्यमा पूर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री सञ्चालन गर्दै आएको कलेजले नयाँ नामसहित थप बेलायतका ३ वटा कोर्ष सुरु गरेको उनले जानकारी दिए ।
कलेजले नयाँ कोर्षको आवश्यकता अनुभूत गरी बिए (अनर्स) इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट , मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाई हुने कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।
७ वर्षदेखि बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाउँदै आएको कलेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४०० बढी बिद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा सोही संख्यामा बढी बिद्यार्थी अन्तर्राष्ट्रिय शिक्षा नेपालमै बसेर लिइ रहेका छन् ।
यसबर्षबाट पूर्वमा पहिलो पटक इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट र आगामी बर्ष मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएस्सी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गरिने कलेजले जनाएको छ ।
प्रदेश नम्बर १ र वरिपरीका विद्यार्थीले गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य साथै नेपालका तथा मल्टीनेशनल कम्पनीलेहरुको माग अनुसारका दक्ष जनशक्ति उक्त कलेजबाट उत्पादन गर्ने लक्ष्य रहेको बुढाथोकीको दाबी छ ।
होटल क्षेत्रमा चाहिने दक्ष जनशक्तिको अभाव भईरहेको अवस्थामा कलेजले यस क्षेत्रलाई आवश्यक पर्ने क्याप्टेन, होटेल म्यानेजर, सीईओ, टिम लिडर, स्वदेशी तथा विदेशी उड्ययन तथा समुन्द्री यातायात क्षेत्रको लागि क्याविन क्रु, ट्राभल म्यानेजर लगायतका क्षेत्रमा नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य कलेजको रहेको छ ।
इनोभेट नेपाल गु्रपले अहिलेसम्म शिक्षा क्षेत्रमा १ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको अध्यक्ष बुढाथोकीले बताए । आगामी दिनमा ग्रुपको उद्योग क्षेत्रमा पनि लगानी गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
‘जनशक्ति उत्पादन गरेर मात्र हुँदैन, रोजगारी पनि सिर्जना गर्न सक्नुपर्छ’, उनले भने, ‘ग्रुपले अब ४ बर्षमा विद्यार्थीलाई रोजगारी दिनेगरी आवश्यक उद्योगको क्षेत्रमा लगानी गर्नेछौं ।’