काठमाडौं । एकपछि अर्को निर्णयबाट सेयर बजार प्रभावित बनेपछि लगानीकर्ताले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन् । गभर्नर महाप्रसाद अधिकारीले अख्तियार गरेको नीतिका कारण बजार निरन्तर प्रभावित भएको र धेरै लगानीकर्ता मर्कामा परेपछि तत्काल पूर्ववत् निर्णय नसच्याए केन्द्रीय बैंक घेराउ गर्ने भएका हुन् ।
‘आज दिनभर केन्द्रीय बैंकलाई समय दिइएको छ,’ पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तथा लगानीकर्ता रामकृष्ण ढकालले भने, ‘यदि आज निर्णयमाथि कुनै हेरबिचार नभए भोलि ११ बजे देशभरबाट लगानीकर्ता बोलाएर केन्द्रीय बैंक घेराउ गर्नेछौं ।’
मौलिक हकअन्तर्गतको सम्पत्तिको हकमाथि प्रहार गरी राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा लगाएको छ । मौद्रिक नीतिमार्फत समग्र पुँजी बजारको विकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गर्न माग गरिएको छ ।
लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व राख्नुपर्ने अनुचित र अव्यावहारिक व्यवस्थालाई तत्काल खारेज गर्न माग गरिएको छ । १ प्रतिशतबाट १.३ प्रतिशत हुने गरी बढाइएको असल कर्जासम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरी १ प्रतिशतनै कायम गर्नुपर्ने माग उनीहरुको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्नुपर्ने, अरू क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै सेयर कर्जालाई पनि कुल ल्यान्डिङ फन्डमा समावेश गर्नुपर्ने, कोभिड–१९ महामारीले गर्दा पछाडि परेको समग्र अर्थतन्त्रलाई राहत पुग्ने गरी मुद्दती निक्षेप ब्याजदर न्यूनभन्दा न्यून कायम गर्नुपर्ने उनीहरुको माग छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमार्फत सेयर खरिद बिक्री गर्न रोक लगाउने गरी जारी गरिएको निर्देशन तत्काल खारेज गरी बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बजारमा लगानी गर्नु पाउने पुरानै व्यवस्था कायम गर्नुपर्ने, अत्यधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१० प्रतिशत अथवा फ्ल्याट रेटमा झार्नुपर्छ ।
बृहत आर्थिक चलखेल गरी साना लगानीकर्तालाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्ने उद्देश्यले ल्याउन लागिएको बुक बिल्डिङ तत्काल खारेज गरी १०० रुपैयाँ पर भ्यालूमा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने व्यवस्था गर्नुपर्ने, ५० कित्ताभन्दा कम आईपीओको आवेदन दिन नसकिने भन्ने किसिमको नया एवम् कम पुँजी भएका लगानीकर्तालाई बजार प्रवेश गर्न नदिने चलखेललाई पूर्णरूपमा रोक्न त्यसता कदम नचालियोस् भन्ने माग लगानीकर्ताको छ ।
दिनहुँ रुपमा बढिरहेको पुँजी बजारको आकार र पुँजी बजारप्रतिको आकर्षणलाई मध्यनजर गरी सीमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने, ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तैः फोन नउठाउने, बिक्री गरेको सेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा सेयर नहाल्ने जस्ता गतिविधिहरुमाथि यथाशीघ्र नियन्त्रण गरियोस र यस्ता ब्रोकरहरुको ब्रोकर लाइसेन्स खारेज गर्नुपर्ने माग गरिएको छ ।