काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा एकाएक उछाल आएको छ । निरन्तरको गिरावटलाई तीव्र गति दिँदै आइतबार उच्च अंकले घटेको सेयर बजारमा सोमबार उछाल आएको हो ।
आइतबार कारोबारको मध्य समयतिर १४७ अंक (५ प्रतिशतको) गिरावट आउँदा नकारात्मक सर्किटमा केही समय कारोबार रोक्नु परेको थियो । तर, त्यसपछि कारोबार रोकिएर खुलेको बजार केही सम्हालिँदै १०८ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (.नेप्से) २८१८ विन्दुमा रोकिएको थियो ।
तर, सोमबार कारोबार खुल्दा २८१६ मा रहेको बजार घट्ने बढ्ने क्रमलाई पछ्याए पनि उच्च रफ्तारमा बढ्ने र सामान्य घट्ने हुँदै १६१.९४ अंकले बढेर २९८०.७९ अंकमा चढेको छ । यो उच्च विन्दु ३१९८ बाट २१८ अंक मात्र तल हो । सोमबारको बजारले आइतबारको उच्च गिरावटलाई बिदा गर्दै झण्डै ५३ अंकले बजार बढेको छ ।
आइतबार नकारात्मक सर्किट लागेर कारोबार भएका अधिकांश कम्पनीहरु कारोबार सकारात्मक सर्किटमा बन्द भएका छन् । ४५ कम्पनीको १० प्रतिशतले नै मूल्य वृद्धि भएको छ भने ३५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी छ ।
सोमबार २०९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ वटा कम्पनीको सेयर मूल्यमा कमी आएको छ । यद्यपि बढी मूल्य घटेको कम्पनीमा नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२ को १.९४ प्रतिशत छ ।
गत साउन २९ गते नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितोमा ऋण लिएर सेयरमा नै लगानी गर्दा प्रतिसंस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेको अवस्थामा सेयर बजार सम्हालिएको थियो ।
साउन २९ गते मौद्रिक नीति आएकोमा त्यसपछिका ३ दिनमा सेयर बजार सकरात्मक बन्दै भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८ मा पुगेर नयाँ रेकर्ड बनाएको थियो । यद्यपि त्यसदिन ३२२६ सम्म नेप्से सूचक पुगेर फर्किएको थियो ।
तर, राष्ट्र बैंकको मौद्रिक नीतिपछि जारी एकीकृत निर्देशनमा सेयर धितोमा दिइने व्यक्तिको कर्जा सीमालाई एकल ग्राहक कर्जा सीमामा बदलिदिएपछि त्यसयता निरन्तर गिरावट आउँदै आइतबार गिरावटको नयाँ रेकर्ड बनाएको थियो ।
तर, राष्ट्र बैंकको निर्देशनपछि लगानीकर्ताहरुले मौद्रिक नीतिको व्यवस्थामा पुनारावलोकन हुनुपर्ने माग गर्दै सोमबार मात्रै नेपाल राष्ट्र घेराउ गर्दै गभर्नर महाप्रसाद अधिकारीलाई विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
उता अर्थमन्त्री जनार्दन शर्माले सोमबार बिहानै गभर्नर अधिकारीलाई फोन गर्दै सेयर बजारका समस्या समधानमा पहल लिन आग्रह गरेका थिए । गभर्नर अधिकारीले पनि वास्तविक लगानीकर्तालाई समस्यामा नपार्ने भन्दै अप्ठेरो परेको भए आफ्नो नीतिमा पुनरावलोकन गर्न सकिने र पर्याप्त ठाउँ रहेको लगानीकर्ताहरु सँगको भेटमा भनेका छन् । त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा परेको हो ।
सोमबारको बढाइ हालसम्मकै उच्च विन्दुकै हो । यसअघि वैशाख १४ गते साढे ९२ अंकले बजार बढेको थियो । जुन हिसावमा सेयर बजारमा गिरावट आएको थियो र, जुन आधारमा सेयर बजारमा चमक आएको छ । त्यसमा कुनै कारणले काम गर्दैन । यद्यपी भन्नका लागि विभिन्न शक्तिकेन्द्रहरुको सकारात्मक पहल भन्न सकिन्छ ।
नेप्से सूचक पछिल्लो पटकको करेक्सनलाई छाडेर ठूला मार्जिनसहित अघि बढेको छ । यसले आगामी दिनमा बजार अझ सकरात्मक हुने संकेत गर्दछ ।
सोमबारको कारोबार प्रवृत्ति र राष्ट्र बैंकको सेयर धितोमा जाने ठूला ऋणमाथिको कडाइलाई साना लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको अप्ठेरो परेको भए हेर्न सकिने केन्द्रीय बैंकको भनाइ र अर्थमन्त्रीको शर्माको ध्यान पनि सेयरबजार प्रति सकरात्मक रहेको सर्वोत्तम सिमेन्ट प्रकरणमा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानामाथि न्यायिक छानबिन अघि बढेकाले बजार उकालो लाग्ने प्रसस्त संभावना छ ।
अर्कोतिर सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने बेला भएको छ । बढी लाभांश दिने कम्पनीहरुको मूल्य अहिले पनि न्यून रहेको लगानीकर्ताहरुको बुझाइ छ । जसको सकरात्मक प्रभाव बजारमा पर्नेछ ।
तर, लगानीकर्ताहरुले सेयर खरिदबिक्री गर्दा आफ्नो औकात हेरर र कम्पनी बुझेर मात्र लगानी गर्दा पछुताउनु पर्ने अवस्था आउँदैन । आइतबार र सोमबारको प्रवृत्ति मंगलबार पनि नदोहाेरिएला भन्न सकिन्न ।
सेयर बजार सूचकमा उछाल देखिए पनि कारोबार रकममा भने उत्साहजनक वृद्धि भएको छैन । सोमबार ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ३० लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यो पनि हेर्नुहोस
डेढ महिना पछि मौद्रिक नीतिको असर देखिन थाल्यो सेयर बजारमा