काठमाडौं । आगामी ५ वर्षमा लगानी बोर्डले थप ७ खर्ब रुपैयाँ भन्दा बढी (६ अर्ब अमेरिकी डलर) वैदेशिक लगानी भित्र्याउने भएको छ । ठूला पूर्वाधार आयोजना अघि बढाउन बोर्डले वैदेशिक लगानी भित्र्याउने योजना बनाएको हो ।
यसबीचमा बोर्डले ११ खर्ब रुपैयाँ (१० अर्ब डलर) बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने भएको छ । बोर्डले तयार पारेको ५ वर्षे व्यावसायिक रणनीतिक योजना ०७८/०८२ ले वैदेशिक लगानी भित्र्याउन महत्वकाँक्षी लक्ष्य लिएको हो । व्यवसायिक रणनीतिक योजना बुधबार प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाले सार्वजनिक गर्ने कार्यक्रम छ ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मा जलविद्युत, सडक, केवलकार, होटल ठूला उद्योगलगायत सबै किसिमका पूर्वाधारमा विदेशी लगानी भित्र्याउने लक्ष्य लिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए । उनका अनुसार ५ वर्षे रणनीतिक योजना ४ वटा विषयमा केन्द्रीत हुनेछ ।
रणनीतिमा पहिलो परियोजना विकासमा केन्द्रीत हुने, लगानी प्रवद्र्धन गर्ने, संस्थागत विकास र समन्वय सहकार्य तथा साझेदारका ४ वटा खम्बा रहेका छन् । यी खम्बा कार्यन्वयनका लागि ५ वर्षको ‘ब्लुप्रिन्ट’ तयार पारिएको उनले सुनाए ।
‘रणनीतिमा के गर्ने ? किन गर्ने ? मात्र हैन, कसरी गर्ने ? भन्ने उल्लेख गरिएको छ’ उनले भने ‘सहजीकरणमा प्रभावकारीता ल्याउने परिणाममुखी कसरी गर्ने, संस्थाको विश्वसनियता बढाउने विषयमा विस्तृत रुपरेखा रणनीतिमा रहेको छ ।’
लगानीकर्तासँग पुनः सम्पर्क हुने संस्थाको भावी योजना खुला गर्ने सम्मेलनको पूर्वतयारी पनि भएको उनले स्पष्ट पारे । हालसम्म बोर्डमा ५० वटा परियोजना सूचिकृत रहेको र नयाँ आयोजना पहिचान हुने क्रममा रहेको छ । पूर्व संभाव्यता अध्ययन, त्यसपछि विकासकर्तालाई खुला गरी प्रतिस्पर्धाबाट छनौट गरी पीपीपीलाई व्यवस्थित गर्ने लक्ष्य रणनीतिको छ ।
एक दशकको अवधिमा बोर्डले ८ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति गरेको छ । जसमध्ये ३ खर्ब रुपैयाँ बराबरको २० वटा आयोजनाहरु निर्माणको विभिन्न चरणमा पुगेका छन् । बोर्डमार्फत चीन र भारतबाट लगानी आएका छन् ।
भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको काम ४२ प्रतिशत सकिएको छ । चिनियाँ लगानी होङसी शिवम सिमेन्टले सिमेन्ट उत्पादन गरिरहेको छ । दैनिक १२ हजार टन क्षमता रहेकोमा २०१९ देखि ६ हजार टन उत्पादन भइरहेको छ ।
१२ हजार टन उत्पादनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । यस्तै ह्वासिन नारायणी सिमेन्टले उत्पादन सुरु गर्दैछ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने भएको छ । एक दशकमा २७ वटा परियोजनाको लगानी स्वीकृति र २० वटाको कार्यान्वयन भएको छ । हालसम्म ३५ प्रतिशत आयोजना निर्माणमा गएका छन् ।
वि.सं. २०६८ सालमा स्थापना भएको लगानी बोर्डले यही भदौ २३ गते लगानी बोर्डको आर्थिक समृद्धिका लागि साझेदारीको मुल नाराका साथ १० औं वार्षिक उत्सव मनाउदैछ । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट उक्त रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने भएका छन ।
बोडसँग ९०० मेगावाटको माथिल्लो कर्णाली, फोहरबाट ऊर्जा उत्पादन गर्ने भेन्चर्स वास्ट, माथिल्लो मस्र्याङदी–२ मुक्तिनाथ केवलकार, गाडी निर्माण तथा एसम्बेलिङ प्लाण्ट, चीन नेपाल मैत्री औद्योगिक पार्क, तल्लो अरुण, पश्चिम सेती, निजगढ एयरपोर्टलगायत ठूला परियोजनाहरु छन् ।
१० औं वार्षिकोत्सव उद्घाटन सत्रमा विशेष अतिथिद्धय अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाल, बोर्डका सीईओ भट्टलगायतले अवसरमा लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने छ ।
उद्घाटन समारोहपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु सञ्चालन हुनेछन ।