काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्पन्ज आइरनमा भन्सार घटाएर गल्ती गरेकाले त्यसलाई सच्याउने बताएका छन् । अर्थमन्त्री शर्माले स्पञ्ज आइरनको भन्सार शून्यमा ल्याउन पर्ने असरका बारेमा भरखरै बुझेको र उक्त गल्तीलाई सच्याउने उद्योगीसामू प्रण गरेका हुन् ।
शनिबार केहि व्यवसायीसँग मन्त्री शर्माले भेट गर्दै भन्सार घटाएको विषयमा आफू स्पस्ट भएको बताएका थिए । शुक्रबार प्रतिस्थापन बजेट ल्याउँदै अर्थमन्त्री शर्माले स्पन्ज आइरनमा भन्सार घटाएका थिए । भन्सार घटाउँदा धेरै उद्योग प्रभावित हुने भन्दै स्टिल उद्योगीहरु शनिबार नै अर्थमन्त्री शर्मालाई भेटेका थिए ।
‘यसको असरको बारेमा राम्रोसँग नबुझी भन्सार घटाइएछ,’ उद्योगीसँगको भेटमा अर्थमन्त्री शर्माले भने, ‘यसलाई जतिसक्दो छिटो सच्याउछु । देशमै विलेट फ्याक्ट्री लागोस्, रोजगारी सिर्जना होस्, विद्युत खपत बढोस भन्ने उद्देश्यबाट भन्सार शून्यमा झरेका थिए । तर, त्यसले भइरहेका स्टिल उद्योग गम्भीर समस्या पर्ने देखिए ।’
नेपालमा विलेट बनाउने उद्योगको संख्या नहेरी निर्णय गर्दा केही समस्या परेको शर्माको भनाइ छ । नेपालमा अहिले विलेट बनाउने उद्योग एक दुई वटा मात्रै छन् । अन्य स्टिल उद्योगले विदेशबाट विलेट ल्याएर रड बनाएर बेचिरहेका छन् ।
नेपालमा भएका विलेट उद्योगको जति क्षमता छ, त्यसले स्वदेशको माग समेत पूरा गर्न सक्दैन । यस्तो अवस्थामा एकै पटक स्पन्ज आइरनको भन्सार शून्यमा झार्न नहुने उद्योगीहरुले अर्थमन्त्रीलाई बताएका थिए ।
अहिले ९० प्रतिशत स्टिल उद्योगले विदेशबाट विलेट मगाएर यहाँ उत्पादन गरिरहेका छन् । तर, सरकारले समय दिएर विस्तारै स्टिल उद्योगलाई विलेट बनाउने उद्योगमा परिणत गर्न प्रोत्साहित गर्नुपर्ने उद्योगीको भनाइ छ ।
पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले भने ‘अर्थमन्त्रीज्यूले यस विषयलाई लिएर रियलाइज्ड गर्नु भएको छ । छिटै सच्याउने समेत बचनसमेत दिनु भएको छ ।’
उद्योगीले नेपालको वास्तविक अवस्थाको बारेमा अर्थमन्त्रीलाई बुझाए पनि उहाँ ‘कन्भिन्स’ भएको श्रेष्ठको भनाइ छ । यदि सरकारले उक्त निर्णयलाई नसच्याउने हो भने भोलिबाटै २० वटा उद्योग बन्द हुने श्रेष्ठको भनाइ छ ।
एकातिर देशमा विद्युत खपत बढाउनुपर्ने बाध्यता छ भने अर्कोतिर रोजगारी बढाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा धेरै रोगजारी र विद्युत् खपत गर्ने उद्योग नै बन्द हुने अवस्था आयो भने समस्या हुन्छ भनेपछि अर्थमन्त्री शर्मा पूर्ववत निर्णय सच्याउन सहमत भएको उनको भनाइ छ ।