विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिला र नवदम्पतीलाई शुभकामना दिनका लागि बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमा महानगरले गर्भवती महिला र नवदम्पती लक्षित कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको छ ।
गर्भवती महिलाका लागि शुभकामना व्यक्त गर्न शुभकामना कार्ड छाप्ने प्रयोजनका लागि भनेर महानगरले ३ लाख १६ हजार बजेट छुट्याएको छ । त्यस्तै नव दम्पतिलाई शुभकामना दिने प्रयोजनका लागि १ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कस्ता गर्भवती र नवदम्पतीलाई शुभकामना दिने भनेर महानगरले खुलाएको छैन् । महानगरले आर्थिक बर्ष ०७८/०७९ को बजेट तीन महिनापछि शुक्रबार मात्र महानगरको आधिकारिक वेबसाइटमा राखेको छ । एकमुष्ट रुपमा बजेट पारित गरेको महानगरले वेबसाइटमा भने शिर्षर्कगत बजेट राखेर बजेट सार्वजनिक गरेको हो ।
महानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड, ३८ लाख ९ हजार ५६८ रुपैया बराबरको बजेट ल्याएको थियो । उक्त रकमलाई विभिन्न शिर्षक र योजनाहरुमा बाँडफाँड गरेर खर्च हुनेगरी सार्वजनिक गरेको हो । बजेट खर्च गर्ने अनुमति नपाउँदा महानगरका कर्मचारी दुई महिनासम्म कामविहिन बनेका थिए ।
नगरसभाबाट पारित एकमुष्ठ बजेटको आकारभित्र रहेर योजनाहरुमा बजेट विनियोजन गर्ने कामलाई महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुक्रबार अन्तिम रुप दिँदै हस्ताक्षर गरेपछि महानगरले वेबसाइटमा प्रकाशन गरेको हो ।
अब केही दिनभित्रै योजना पुस्तिका प्रकाशन गर्ने तयारी महानगरले गरेको छ । योजना पुस्तिका प्रकाशन भएपछि मात्र बजेट कार्यान्वयनमा जाने अभ्यास रहेको महानगरले जनाएको छ ।
महागनरपालिकाले दुई आर्थिक वर्षदेखि भुक्तानी दिनुपर्ने रकमको आकारसमेत ठूलो देखिएको छ । चालु वर्षको बजेटमा दायित्व सारेर ल्याइएको भुक्तानी गर्न बाँकी खर्च मात्रै ४८ करोड ९८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ मा योजना सञ्चालन भई भुक्तानी बाँकी रहेको ४७८ वटा योजनालाई ४९ करोड रुपैयाँ चालु वर्षमा भुक्तानी दिनुपर्ने देखिएको छ । भुक्तानी दिन बाँकी रकम महानगरपालिकाको एक वर्षको आन्तरिक स्रोतबाट हुने आम्दानी भन्दा बढी हो । गत वर्ष विराटनगर महानगरले करिव ४० करोड रुपैयाँ मात्र आम्दानी गर्न सकेको थियो ।
महानगरपालिकाले चालु वर्षका लागि पनि करोडौं रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च गर्न बजेट विनियोजन गरेको पाइएको छ ।
महानगरले विराटनगर ६ को साइच्छा र तागेरा ब्युटीपार्लर लागि भनेर लाखौ बजेट छुट्याएको छ ।
महानगरले विभिन्न सामाजिक संघसंस्था र धार्मिक मठमन्दिर तथा गुठीहरुका लागि मात्र १६ करोड ७७ लाख रुपैयाँ भन्दा बढीका योजनाहरुमा बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये १० करोड ७४ लाख पुँजीगत र बाँकी ६ करोड रुपैयाँ भन्दा बढी रकम चालु खर्च अन्तरगत रहेको छ ।
कृषि क्षेत्रमा काम गर्दै आएको कर्मशियल एग्रिकल्चर एलायन्सको नाममा महानगरपालिकाले बिना योजना १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पूर्वाधारतर्फ प्रयाप्त बजेट नहुँदा विकास निर्माणको काम अघि बढ्न सकेका छैनन् । नगरमा अहिले पनि सडक, नाला, खानेपानी जस्ता आधारभूत विकासको न्यूनतम आवश्यकतासमेत परिपूर्ति नभइरहेको अवस्थामा ठूलो रकम अनुत्पादक क्षेत्रमा खर्च गर्नु दुखद भएको सरोकारवालाहरुले बताएका छन् ।