काठमाडौं । सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट विधेयक २०७८ लाई संसदले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पारित गरेको हो ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले बजेट विधेयक बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित बजेट विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रियसभाले पारित गरेर स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनमा आउने छ । त्यसपछि बजेट खर्चको बाटो खुल्ने छ ।
विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवालले मात्र सहभागिता जनाएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा गरिरहे । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।
अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको समय भदौ ३१ गते सकिएपछि सरकारले कर उठाउन पाए पनि खर्च गर्न पाएको छैन। सरकारले चालू आर्थिक वर्षका लागि लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो । करिब १५ अर्ब रुपैयाँ बजेट घटेको छ ।
कुल विनियोजनमध्ये चालूतर्फ ४१.५२ प्रतिशत अर्थात ६ खर्ब ७७ अर्ब ९९ करोड, पुँजीगत २३.१६ प्रतिशत अर्थात ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ११.६० प्रतिशत अर्थात १ खर्ब ७९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब २५ अर्ब ७५ करोड र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड, वैदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋण २ अर्ब ३९ अर्ब रुपैयाँ व्योहर्ने भएको छ । चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।