काठमाडौं। बैंकको भल्ट (ढुकुटी)बाटै नगद हिनामिना भएको र कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहुँच पुर्याएको भेटिएपछि नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० र सम्पूर्ण सञ्चालक समितिलाई कारबाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गर्दै नियमविपरीत कार्य गर्ने तीन वटा वित्तीय संस्थाका नेतृत्वलाई डण्डा चलाएको हो।
राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा सप्तकोशी डेभलपमेन्ट बैंकमा गम्भीर र आपराधिक प्रकृतिका कैफियतहरू फेला परेका छन्। बैंकको भल्टमा रहेको नगद अपचलन भएको र कर्मचारीहरूले बैंकका निक्षेपकर्ताहरूको खातामा अनधिकृत रूपमा प्रवेश गरी रकम चलाएको पुष्टि भएको छ।
गम्भीर घटना हुँदा पनि बैंक व्यवस्थापन र सञ्चालक समितिले दोषीमाथि विस्तृत छानबिन नगरेको र आन्तरिक नियन्त्रण प्रणाली सुधार्न कुनै ठोस पहल नगरेको राष्ट्र बैंकको ठहर छ।
संस्थाको आन्तरिक सुशासनमा गम्भीर लापरबाही देखिएपछि राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू सबैलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)को खण्ड (क) बमोजिम सचेत गराएको छ। यो कारबाहीले बैंकको नेतृत्वलाई भविष्यमा यस्ता गल्ती नदोहोर्याउन कडा चेतावनी दिएको छ।
रिलायन्स फाइनान्सले राष्ट्र बैंकको अनिवार्य नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकमा देखिएको जस्तो नगद अपचलन र ग्राहकको खातामा अनधिकृत पहुँच पुर्याउने कार्यले समग्र बैंकिङ प्रणालीप्रति नै जनविश्वास घट्न सक्ने जोखिम रहन्छ। यस्ता घटनामा बैंकको नेतृत्व नै मौन बस्नु वा दोषीलाई कारबाही नगर्नुले वित्तीय क्षेत्रमा गम्भीर प्रश्न खडा गरेको छ।
त्यसैगरी, राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई पनि कारबाहीको दायरामा ल्याएको छ। नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा राष्ट्र बैंकले एउटा अनिवार्य सर्त राखेको थियो। उक्त सर्तअनुसार बैंकले कुनै पनि एउटा ग्राहक, फर्म वा कम्पनीलाई आफ्नो प्राथमिक पूँजीको बढीमा १० प्रतिशतभन्दा बढी ऋण दिन पाउँदैनथ्यो।
तर, सीईओ रेग्मीको कार्यकालमा बैंकले उक्त सर्तको ठाडो उल्लंघन गर्दै एकल ग्राहक कर्जा सीमाभन्दा बढी ऋण प्रवाह गरेको भेटिएको छ। सोही कारण उनलाई पनि राष्ट्र बैंकले सचेत गराएको हो।
यता वित्त कम्पनी (फाइनान्स)तर्फ रिलायन्स फाइनान्स पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ। रिलायन्स फाइनान्सले राष्ट्र बैंकको अनिवार्य नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ। २०८२ साल फागुन १० गतेदेखि २०८३ साल वैशाख ५ गतेसम्मको अवधिमा तोकिएको नगद मौज्दात नपुर्याएकाले फाइनान्सलाई २ हजार ९२४ रुपैयाँ जरिवाना गरिएको छ।