काठमाडौं । ५७ वर्ष लामो इतिहास बोकेको नेबिको बिस्कुट उद्योगमा साउन २३ गते राति आगलागी भयो । आगलागी हुँदा त्यहाँका सबै संरचनाहरु जलेर नष्ट भए । करोडौं मूल्यका बिस्कुट उत्पादन गर्ने प्लान्टहरु ध्वस्त भए भने बिस्कुटका लागि आवश्यक कच्चापदार्थहरु पनि जले ।
केही घण्टामै खरानी भएको उद्योग यति चाँडै सञ्चालनमा आउला भनेर कसैले सोचेका थिएनन् । तर, आगलागी भएको १ महिना १४ दिनमै उद्योग पुरानै अवस्थामा सञ्चालनमा आएको छ ।
यो कसरी सम्भव भयो त ? कम्पनीका निर्देशक राजेश रौनियार भन्छ्न्, ‘कर्मचारीहरुको अथक मेहनत र व्यवस्थापकहरुको आँट, साहसले हामी सञ्चालनमा आउन सफल भएका हौं ।’
विक्रम संवत् २०२१ सालबाट नेबिको बिस्कुट उद्योग सञ्चालनमा आएको हो । नेबिको नेपालकै पहिलो बिस्कुट उद्योग हो । विभिन्न राजनीतिक घटनाक्रमले समस्यामा फसेर बन्द हुँदै सञ्चालनमा आउँदै गर्दा द्वन्द्वको बेला पूर्णरुपमा बन्द भएको थियो । केही समय बन्दभएपछि २०६४ सालमा केही नयाँ लगानीकर्ताहरु भित्रिएसँगै उद्योगले नयाँ रुप लिएको थियो ।
विभिन्न समयमा आएको बाधा र अवरोधलाई चिर्दै नेपाली बजारमा एकछत्र राजगरी रहेको उद्योगमा एक्कासि आगो लाग्दा भावनात्मक रुपमा आफू विक्षिप्त भएको निर्देशक रौनियारको भनाइ छ ।
‘सुखका आँसु बाहेक अहिलेसम्म दुःखका आँसु झरेको थिएन, कार्यकारी निर्देशक रौनियारले भने, उद्योगमा लागेको आगोले मेरो आँखामा पहिलो पटक दुःखका आँसु झर्यो ’ ।

‘१२ वर्षअघि बन्द भएको उद्योग सम्हालेर नयाँ रुप दिन जुन जोश र जागर देखाएर अगाडि बढेका थियौं । अब फेरि उही रफ्तारमा हामी लाग्ने छौं’ उनले भने । ‘कर्मचारीहरुले असोज ७ गतेभित्रै उद्योग सञ्चालन गर्ने प्रस्ताव लिएर आउँदा मलाई विश्वास लागेको थिएन, निर्देशक रौनियारले भने, तर कर्मचारीहरुले दैनिक १६/१७ घण्टाको मेहनतले सफल भएको देख्दा म आफैं दङ्ग परेको छु, यसमा उहाँहरुलाई धन्यवाद दिने कुनै शब्दनै छैन ।’
उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव भट्टराईले पुरानै सेटमा जान २/३ वर्ष लाग्ने भए पनि कर्मचारी र व्यवस्थापनको साथ र सहयोगले भएका मेसिनको मर्मत सम्भार गर्न चारवटा टिम बनाएर द्रुत गतिमा काम गरेकाले अहिलेको अवस्थामा आउन सफल भएको बताए ।
यहाँको उद्योग ध्वस्त भए पनि बजारमा विस्कुटको अभाव नहोस भन्ने उद्देश्यका साथ भैरहवामा रहेको उद्योगलाई १६ बाट २४ सै घण्टा सञ्चालनमा ल्याएको उनको भनाइ छ । काठमाडौंमा रहेको टिमलाई त्यहाँ पठाएर २४ सै घण्टा सञ्चालनमा ल्याएको उनले बताए ।
उनले पहिलेको तुलनामा ७५ देखि ८० प्रतिशत क्षमतामा मात्र संचालनमा आउने जनाएको छ । यसअघि दैनिक २०/२२ टन उत्पादन हुने गरेकोमा तत्कालका लागि दैनिक १६ टन उत्पादन हुने र २/३ दिनभित्र बजारमा बालाजुको उत्पादन जाने जानकारी दिए ।
बालाजुमा रहेको उद्योगमा मात्र करिब ४०० जना कर्मचारीहरु कार्यरत छन् । उनीहरु सबै बुधबारबाट काममा फर्किसकेका छन् ।
आगलागीबाट १२ करोड रुपैयाँको कच्चा पदार्थ क्षति भएको छ भने मेसिन र बिल्डिङको क्षतिको विवरण आउन बाँकी रहेको उनको भनाइ छ।
हेटौंडामा माघ १ गतेबाट नयाँ प्लान्ट सुरु
सीईओ भट्टराईले आगामी माघको १ गतेबाट हेटौंडामा रहेको नयाँ प्लान्टबाट उत्पादन सुरु हुने जानकारी दिए । हेटौंडा औद्योगिक क्षेत्रभित्र स्थापना भएको सो प्लान्ट बालाजुको भन्दा पनि ठूलो क्षमतामा हुनेछ । हेटौंडामा २ वर्षअघि नै प्लान्ट स्थापनाको लागि तयार गरिएको थियो । योसँगै नेबिको बिस्कुटको काठमाडौं बाहिर २ वटा प्लान्ट रहनेछ ।