काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव ३ प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव ४ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा यस्तो पाइएको हो ।
परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताउनुभयो । “भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएका हो”, ,उनले भने, “दुवै खोप उत्तिकै प्रभावकारी छन् ।”
काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमामा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिए । उनका अनुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव ९ प्रतिशतमा एन्टिबडी देखिएको छ । यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव १ प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ ।
वरिष्ठ अनुसन्धान अधिकृत धिमालले खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै जानाका साथै केही व्यक्तिमा १५० दिनसम्म पनि एन्टिबडी देखिने गर्ने जानकारी दिए । अनुसन्धानकै क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका व्यक्तिमा एन्टिबडी परीक्षण गर्दा ५९दशमलव ८ प्रतिशत मात्र एन्टिबडी देखिएको छ ।
कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड–१९ को सङ्क्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको बताए । खोप लगाएको दिनदेखि नमूना सङ्कलनको दिनसम्मलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेकामा ८२दशमलव ३३ प्रतिशत एन्टिबडी देखिएको छ । यस्तै चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३ दशमलव ७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको छ ।