काठमाडौं। नागरिक एपबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अप्सन हटेको छ। भदौ २३ र २४ जेनजीले गरेको आन्दोलनका कारणले यातायात विभागमा भएको तोडफोड, आगजनी लगायत आक्रमणपछि नागरिक एपबाट लाइसेन्सको अप्सन हटेको हो।
नागरिक एपबाट लाइसेन्स हटेसँगै प्रयोगकर्ता समस्यामा परेका छन्। उपत्यकामा विगत तीन वर्षदेखि राइड सेयरिङ गर्दै आएका सुनिल विकले ट्राफिक कारबाहीमा परे आफू भौतिक रुपमा नै उपस्थित भएर राजस्व बुझाउनुपर्ने चिन्ता व्यक्त गरेका छन्।
‘कहिलेकही कारबाहीमा पर्दा नागरिक एपबाटै अनलाइनबाट पैसा तिर्ने र क्लास लिन सजिलो थियो,’ उनले भने, ‘अब पैसा तिर्न जाँदा लाइन र ट्राफिकको कक्षा लिनुपर्ने समस्या देखिएको छ, तर यस्तो परिस्थितिमा सरकारले बुझेर केही खुकुलो गरे हुन्छ।’
सरकारले यस्तो विषम परिस्थितिलाई मध्ये नजर गर्दै राइड सेयरिङ गर्ने चालकलाई कारबाहीमा केही खुकुलो बनाउन उनले आग्रह गरे। उनले नविकरण गर्दा कसरी हुने भनेर चिन्ता गरेका छन्।
नागरिक एपबाट ‘लाइसेन्स फिचर’ हटेको स्पष्ट कारण नखुलाइए पनि जेनजी आन्दोलनमा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको भवन आगजनी हुँदा विभागको सर्भर ध्वस्त भएकाले नागरिक एपबाट लाइसेन्स फिचर हटेको बुझिएको छ। सो लाइसेन्स विभागको अनलाइन प्रणाली ‘ईडीएलभीआरएस सिस्टम’मा आबद्ध छ।
विभागको सर्भर ध्वस्त भएकाले सो प्रणाली नचल्दा नागरिक एप नदेखिएको हुन सक्ने यातायात विभागका सूचना अधिकारी गणेशमान सिंह राईको अनुमान छ। ‘विभागको ईडीएलभीआरएस सिस्टम नागरिक एपमा इन्ट्रिग्रेटेड गरिएको थियो। तर, उक्त प्रणाली नै अहिले सञ्चालनमा नरहेकाले नागरिक एपबाट पनि हटेको हुनसक्छ,’ उनले अनुमान लगाए।
विभागको सर्भर ध्वस्त भएकाले सो प्रणाली नचल्दा नागरिक एप नदेखिएको हुन सक्ने यातायात विभागका सूचना अधिकारी गणेशमान सिंह राईको अनुमान छ।
विभागमा भएको आगलागीका कारण विभागको सम्पूर्ण सेवा प्रवाह र केन्द्रीय सर्भर प्रणालीमा गम्भीर असर परेको छ। आगलागीले गर्दा विभागको सर्भर, डेटा म्यानेजमेन्ट प्रणाली, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को सम्पूर्ण डेटा र ईम्बोस नम्बर प्लेटको तयारी प्लान्टसमेत पूर्ण रूपमा जलेर नष्ट भएको राईले बताएका छन्।
आगलागीबाट सबैभन्दा ठूलो क्षति सर्भर प्रणालीमा पुगेको छ, जसले गर्दा सवारी लाइसेन्स र सवारी दर्ताको सम्पूर्ण डिजिटल रेकर्ड ध्वस्त भएको छ। यसको प्रत्यक्ष असर नागरिक एपमा पनि देखिएको छ, जहाँ लिंक गरिएका ड्राइभिङ लाइसेन्सका कागजातहरू अहिले उपलब्ध छैनन्।
पछिल्लो घटनाले लाखौँ सेवाग्राहीलाई प्रत्यक्ष असर पार्ने देखिन्छ। विशेषगरी, सवारी चालक अनुमतिपत्र बनाउने, नवीकरण गर्ने वा विदेश जाने तयारीमा रहेका व्यक्तिहरूलाई यसले ठूलो समस्या निम्त्याउने भएको छ।
‘ड्राइभिङ लाइसेन्स लिएर विदेशमा रोजगारी वा अन्य प्रयोजनका लागि जानेहरूलाई यसले तत्काल समस्या पार्नेछ,’ उनले भने, ‘किनभने उनीहरूको लाइसेन्सको डिजिटल रेकर्ड अब उपलब्ध छैन।’
नागरिक एपमा यातायात व्यवस्था विभागको सेवालाई जोड्दा लाइसेन्सको विवरण हेर्न सकिन्थ्यो। यसले गर्दा चालकहरूलाई सवारी चलाउँदा सधैँ लाइसेन्सको हार्ड कपी बोकिरहनुपर्ने झन्झटबाट मुक्ति मिलेको थियो। ट्राफिक प्रहरीले जाँच गर्दा पनि मोबाइलमै रहेको डिजिटल लाइसेन्स देखाएर काम चल्थ्यो। यसले आम नागरिकलाई ठूलो सहजता प्रदान गरेको थियो।
नेपालभित्रका चालकहरूका लागि भने ट्राफिक प्रहरीले रसिद देखाएर पनि काम चलाउन दिने निर्णय भएको हुँदा तत्कालको लागि ठूलो समस्या नहुने देखिएको छ।
नेपालभित्रका चालकहरूका लागि भने ट्राफिक प्रहरीले रसिद देखाएर पनि काम चलाउन दिने निर्णय भएको हुँदा तत्कालको लागि ठूलो समस्या नहुने देखिएको छ। तर, भविष्यमा लाइसेन्स नवीकरण वा नयाँ बनाउनुपर्दा निकै जटिलता आउने सम्भावना देखिन्छ। नागरिक एपमा रहेको लाइसेन्स लिंक गर्ने सुविधा हटेपछि चालकहरूलाई समस्या हुने देखिएको छ।
यसअघि धेरै चालकहरूले डिजिटल लाइसेन्सलाई आफ्नो आधिकारिक प्रमाणको रूपमा प्रयोग गर्दै आएका थिए। तर, अहिले यो फिचर एपबाटै हटाइएपछि उनीहरूले फेरि भौतिक लाइसेन्स (हार्ड कपी) बोक्नुपर्ने बाध्यता सिर्जना भएको छ। केही समयअघि नाम र क्यूआर कोड मात्र देखिने गरेकोमा अहिले त्यो पनि छैन। यसले गर्दा डिजिटल लाइसेन्समा निर्भर रहेका चालकहरूलाई अचानक समस्या भएको छ। उनीहरूले फेरि हार्ड कपी बोक्नुपर्ने भएको छ, जुन अवस्थामा धेरैको लाइसेन्सको हार्ड कपी हराएको वा बिग्रेको हुन सक्ने यातायात विज्ञ आशिष जगुरेलले बताए।
‘अब चालकहरूले अनिवार्य रूपमा लाइसेन्सको हार्ड कपी बोक्नुपर्नेछ, जसले पुरानै झन्झट दोहोरिएको छ,’ उनले भने, ‘हार्ड कपी नभएका चालकहरूलाई ट्राफिक प्रहरीले जरिवाना गर्न सक्छ। यसबाट अनावश्यक समस्या र आर्थिक भार थपिन सक्छ।’ यसका साथै सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडि बढाइरहेको बेला यस्ता सुविधा हट्दा नागरिकमा निराशा बढ्न सक्ने उनको तर्क छ।
यस्तै, विभागमा आगजगीबाट सवारी लाइसेन्स र ईम्बोस नम्बर प्लेटका लागि प्रयोग हुने सम्पूर्ण कागजपत्र र उपकरणहरू जलेर नष्ट भएका छन्। विभागका अनुसार, कार्यालयमा रहेका कुर्सी र टेबुलबाहेक सेवा प्रवाहका लागि आवश्यक कुनै पनि सामग्री बाँकी छैनन्।
विभागले क्षतिको यकिन विवरण संकलन गरिरहेको छ। सेवाहरू पुनः सुचारु गर्नका लागि नयाँ प्रणालीको तयारीमा जुटेको जनाएको छ। तर, डेटा रिकभरी र सम्पूर्ण सेवाहरू पुनः सामान्य अवस्थामा फर्काउन लामो समय लाग्ने विभागले जनाएको छ।