काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा दूरसञ्चार उपकरण तथा पूर्वाधार विकास विस्तारको नाममा अर्बौं रुपैयाँ बिदेसिएको छ । गत आर्थिक वर्षमा उपकरण खरिदमा कम्पनीहरुले १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ बाहिर पठाएका छन् ।
विभिन्न दूरसञ्चार उपकरण, ब्याण्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणले सो रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको हो ।
जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । जसमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७.०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।
यसैगरी कुल विदेशी मुद्रामा एनसेलले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ४२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल रकमको ४८.११ प्रतिशत हो ।
यसैगरी दोस्रोमा वर्ल्डलिङ्क कम्युनिकेसनले १ अर्ब ६६ करोड ५ लाख ५ हजार रुपैयाँको उपकरण, प्रविधिहरु भित्राएको छ । नेपाल टेलिकमले भने समग्रमा २.३४ प्रतिशत रकम मात्र बाहिर पठाएको देखिएको छ ।
जसमा १६ करोड, ६३ लाख ५ हजार रुपैयाँ रहेको प्राधिकरणले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा देखिएको छ । उक्त अवधिमा १३ वटा कम्पनीले उपकरण, ब्याण्डविथ प्रविधि तथा परामर्शमा विदेशी मुद्रा खर्चिएका हुन् ।