काठमाडौं। मोरङ-सुनसरी औद्योगिक करिडोरमा सञ्चालित पशुपति खाद्य तेल उद्योगको व्यापारमा ठूलो उछाल आएको छ। मुख्यतया भारततर्फको निर्यातमा आएको तीव्र वृद्धिका कारण कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै १० अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो।
व्यापारिक परिमाणमा आएको सुधार र सुदृढ वित्तीय सूचकका आधारमा रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको साख मूल्यांकन (क्रेडिट रेटिङ) मा समेत स्तरोन्नति गरेको छ। इक्रा नेपालले कम्पनीको ८ अर्ब रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाका लागि प्रदान गर्दै आएको रेटिङलाई ‘ए फोर’ बाट बढाएर ‘ए फोर प्लस’ कायम गरेको छ।
साख मूल्यांकनमा भएको यो स्तरोन्नतिले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा सुधार आएको र कर्जा सुरक्षाको अवस्था विगतको तुलनामा बलियो भएको संकेत गर्दछ। विशेषगरी भारततर्फको निर्यातले कम्पनीको कार्यशील पूँजीको दबाब कम गरेको र नगद प्रवाहमा उल्लेख्य सुधार ल्याएको रेटिङ रिपोर्टमा उल्लेख छ।
पशुपति खाद्य तेल उद्योगको पछिल्लो ५ वर्षको व्यापारिक विवरण निकै उतारचढावपूर्ण तर पछिल्लो समय उत्साहजनक देखिएको छ। आर्थिक वर्ष २०७८÷७९ (सन् २०२२) मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको कारोबार सन् २०२४ मा घटेर २ अर्ब ७ करोड १० लाखमा खुम्चिएको थियो। तर, आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा कम्पनीले ४०० प्रतिशतभन्दा बढीको फड्को मार्दै १० अर्ब ३० करोड रुपैयाँको व्यापार गर्यो।
चालू वर्षको ९ महिनामै १० अर्ब १८ करोडको व्यापार गरिसकेकाले यो वर्ष आम्दानीले नयाँ रेकर्ड कायम गर्ने निश्चित देखिएको छ। कम्पनीको कुल आम्दानीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातबाट प्राप्त भइरहेको छ।
डलरको विनिमय दरमा हुने उतारचढाव र भारतको आयात नीतिमा आउने फेरबदलले कम्पनीको नाफालाई सीधै असर पार्ने देखिन्छ।
सन् १९८२ मा स्थापना भएको यस उद्योगको नेतृत्व नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरू शारडा ग्रुप र राठी ग्रुपले गरिरहेका छन्। कम्पनीको अध्यक्षमा श्री निवास शारडा छन् भने नन्द किशोर राठी १३ प्रतिशत सेयरसहित मुख्य लगानीकर्ता छन्।
४० वर्षभन्दा लामो इतिहास बोकेको यो उद्योगले ‘पोस्टम्यान’, ‘हनुमान’, ‘हेलो’ र ‘पशुपति’ ब्राण्डमा सोयाबिन, सूर्यमुखी, पाम आयल र वनस्पति घिउ उत्पादन गर्दै आएको छ। शारडा र राठी ग्रुपको सिमेन्ट, स्टिल र खाद्य क्षेत्रमा रहेको लामो अनुभवले गर्दा उद्योगले बजारमा बलियो पकड जमाएको छ।
वित्तीय सूचकहरूको विश्लेषण गर्दा कम्पनीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ। सन् २०२५ मा ६.५ प्रतिशत रहेको सञ्चालन मुनाफा चालू वर्षको ९ महिनामा ६.८ प्रतिशत पुगेको छ। निर्यातका कारण उधारो पैसा उठ्ने समय घटेकाले चालू पूँजीको आवश्यकता ५१ प्रतिशतबाट झरेर २७ प्रतिशतमा आएको छ। ऋण तिर्न सक्ने क्षमता दर्शाउने प्रमुख सूचक ‘डेट सर्भिस कभरेज रेसियो’ ७.७ गुणाको उच्च विन्दुमा छ भने ब्याज तिर्ने क्षमता ८.८ गुणा रहेको छ।
यद्यपि, कम्पनीका सामु केही गम्भीर चुनौतीहरू पनि विद्यमान छन्। साफ्टाअन्तर्गत नेपालले पाइरहेको शून्य भन्सारको सुविधाका कारण भारतीय बजारमा नेपाली तेलको माग उच्च भए पनि नेपाल सन् २०२६ नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने भएकाले यो सुविधा हट्न सक्ने जोखिम छ।
त्यस्तै, कम्पनी कच्चा पदार्थका लागि पूर्ण रूपमा अर्जेन्टिना, युक्रेन र ब्राजिल जस्ता मुलुकमा निर्भर छ। डलरको विनिमय दरमा हुने उतारचढाव र भारतको आयात नीतिमा आउने फेरबदलले कम्पनीको नाफालाई सीधै असर पार्ने देखिन्छ। कुल आम्दानीको ८५ प्रतिशत हिस्सा भारतीय बजारको ड्युटी आर्बिट्राजमा मात्र निर्भर रहनुलाई रेटिङ एजेन्सीले मुख्य जोखिमको रूपमा औँल्याएको छ।