काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले २०८० भदौमा एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) परिमार्जन गर्दै पाँच वर्षभित्रमा प्रत्येक कम्पनीले अनिवार्य रुपमा ५ वटा हेलिकोप्टर र ५० करोड पूँजी पुर्याउनुपर्ने नीति ल्यायो। जुन नीतिअनुसार सबै हेलिकोप्टर कम्पनीहरुले अनिवार्य पाँच वटा पुर्याउनुपर्ने र पूँजी बढाएर ५० करोड पुर्याउनुपर्ने बाध्यकारी छ।
प्राधिकरणले दिएको समय सीमा सकिन केही वर्ष मात्र बाँकी रहँदासम्म अधिकांश हेलिकोप्टर कम्पनीले पाँच वटा संख्या र ५० करोड पूँजी पुर्याउन सक्ने स्थिति नभएपछि आपसमा मर्जरका लागि छलफल चलाएको लामो समय भइसकेको छ। तर, मर्जरमा जाँदा सरकारी स्तरबाट केही सहुलियत भए सहज हुने भन्दै व्यवसायीहरुले सरकारसँग सहयोग माग्दै आएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतावजंग पाण्डेले मंगलबार बसेको हेलिकोप्टर सञ्चालकहरुको बैठकले अर्थ मन्त्रालयबाट कर छुट पाए मर्जरमा जान धेरै कम्पनीहरु तयार रहेको बताए।
‘हेलिकोप्टर सञ्चालकहरुको बैठक अहिलेको अवस्थामा सबै कम्पनीले पाँच वटा पुर्याउन नसक्ने र पूँजी पनि ५० करोड पुर्याउन सक्ने स्थिति नहुँदा मर्जरमा जान तयार रहेको निष्कर्ष निकालेका छौँ,’ अध्यक्ष पाण्डेले भने, ‘यसमा प्राधिकरणमार्फत मन्त्रालयमा प्रस्ताव पुगेर कर छुट दिनुपर्छ।’
पछिल्लो समय हवाई इन्धनको बढ्दो मूल्य र पर्यटकको संख्या घटिरहेको बेला कम्पनी सञ्चालन खर्चसमेत धान्न मुस्किल परिरहेकाले पाँच वटा हेलिकोप्टरको संख्या पुर्याउन सक्ने स्थिति नरहेको निष्कर्षसमेत सञ्चालकले गरेका छन्। अहिले हेलिकोप्टर कम्पनीको पूँजी १५ करोड मात्र छ। यसलाई बढाएर ५० करोड पुर्याउन सक्ने स्थिति नरहेको जनाएको छ।
अहिले केही हेलिकोप्टर कम्पनीबाहेक धेरैको १ वा २ वटाको भरमा सञ्चालनमा रहेकाले पूँजी बढाउने र संख्या थप्न सक्ने अवस्था नरहेको जनाएको छ। एक हेलिकोप्टर सञ्चालकका अनुसार थोरै संख्या भएका हेलिकोप्टर कम्पनीबीच मर्जरका लागि छलफल भइरहेको छ। ‘नियामक निकायको नीति मान्न अनिवार्य रहेकोले पनि कि त ५ वटा पुर्याउनु प¥यो, कि त मर्जरमा जानुपर्यो,’ ती सञ्चालकले भने, ‘मन मिल्ने कम्पनीसँग मर्जरका लागि पटकपटक छलफल भइरहेको छ।’
यसअघि मर्जरका लागि छलफल भए पनि ठोस निर्णयमा पुगेका थिएनन्। तर, यो पटक जहाजको संख्याको कारणले पनि मर्जरमा जानुको विकल्प नभएको ती सञ्चालकहरुको भनाइ छ।
नयाँ हवाई नीतिमा तीन वटा जहाज र पाँच वटा हेलिकोप्टर अनिवार्य भन्ने विषयमा समावेश हुँदै छ। त्यसैले अब एयरलाइन्स कम्पनीहरुले त्यहीअनुसार अगाडि बढ्नुपर्ने अवस्थामा रहेको व्यवसायीहरुको भनाइ छ। अहिले सीमित हेलिकोप्टर कम्पनीबाहेक अधिकांशको पाँच वटाभन्दा कम छ।
केही हेलिकोप्टर कम्पनीले आगामी तीन वर्षभित्रै पाँच वटा पुर्याउने गरी काम थालेका छन्। हाल एक दर्जनभन्दा बढी हेलिकोप्टर कम्पनी र पाँच वटा एयरलाइन्सले आन्तरिक उडान गर्दै आएको छ।