विराटनगर । बेमौसमी वर्षाका कारण आएको बाढी उद्योगभित्र पसेपछि पूर्वका धेरैजसो उद्योगमा क्षति पुगेको छ । उद्योगमा क्षति पुगेपछि उत्पादन पनि घटेको उद्योगीहरूले बताएका छन् ।
मोरङ व्यापार संघका कार्यकारी अधिकृत कृष्णकुमार रेग्मीले बुढीगंगा, दुहबी, सोनापुर, इटहरी र मोरङको कटहरी क्षेत्रका अधिकांश उद्योगमा बाढी पसेको जानकारी दिए । बाढीका पसेका कारण उद्योगहरूको अर्बौंको क्षति भएको उनको भनाइ छ । बाढी पसेको दुई दिन भइसक्दा पनि व्यवसायीहरू उत्पादित वस्तु र कच्चा पदार्थको व्यवस्थापनमा नै लागिरहेको रेग्मीले बताए ।
‘धेरै उद्योगीहरू अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त हुनुहुन्छ’, उनले भने । डुबानमा परेर उद्योगका मेसिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधनलगायत धेरैतिर नोक्सानी भएको रेग्मीले जानकारी दिए ।
अझै उद्योगको बाहिरी र भित्री भागमा पानी रहेकाले पानी निकाल्न समस्या भएको उनले जानकारी दिए । बाढीबाट भएको क्षतिको व्यवस्थापन गर्न अझै केही दिन लाग्ने बताउँदै रेग्मीले कति क्षति भयो भनेर अझै विवरण आइनसकेको बताए ।
‘धेरै उद्योगीहरू अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त हुनुहुन्छ’, उनले भने । डुबानमा परेर उद्योगका मेसिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधनलगायत धेरैतिर नोक्सानी भएको रेग्मीले जानकारी दिए ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष शुयोस प्याकुरेलका अनुसार बाढीका कारण उद्योगमा कति क्षति भयो भनेर सबै उद्योगसँग विवरण संगठनले माग गरेको छ । उद्योगमा कति क्षति भयो भन्ने कुरा विवरण आइसकेपछि मात्र थाहा हुने उनको भनाइ छ । संगठनले क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको पनि प्याकुरेलले जानकारी दिए ।
अहिले व्यवसायीहरू थप क्षति नहोस् भनेर पानी व्यवस्थापनमा नै बढी केन्द्रित भएको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । परिसंघले विपद्का कारण क्षति बेहोरेका उद्योगले गरेको बिमा तत्काल भुक्तानी गर्न बिमा समितिलाई आग्रहसमेत गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
धेरै समयपछि मोरङ सुनसरी करिडोरका उद्योगहरूमा यति धेरै क्षति पुगेको उनको भनाइ छ । इँटा उद्योगहरूले झन् बढी क्षति बेहोर्नुपरेको घिमिरेले बताए । ‘गत वर्ष इँटा उद्योग सञ्चालन नभएका कारण यो वर्ष छिट्टै सञ्चालनको लागि मजदुरहरू राखेका थिए’, उनले भने, ‘मजदुर राखेको अस्थायी टहरा भत्काएर मजदुर व्यवस्थापनमा पनि समस्या भएको छ, इँटा पकाउने चिम्नीको वालहरू फुटेका छन्, बनेका इँटाहरू पनि पानीमा डुबेर माटो भएका छन् ।’
इँटा उद्योगीहरूलाई धेरै नोक्सानी भएकाले कम्तीमा पनि पूर्णरूपमा उद्योग सञ्चालन गर्न दुई महिना लाग्ने घिमिरेले बताए । ‘काचो ईटा बनाउन एक महिना लाग्छ’ घिमिरेले भने, ‘अर्को महिना पोल्ने काम गर्दा पुसभन्दा अगाडि बजारमा इँटा आउन सक्दैन ।’ व्यवसायिले स्टोर गरेका सामान देखि उद्योगका उत्पादित सामान, कच्चा पदार्थ, मेशिनरी सामान, कतिपय उद्योगका अफिस भवनमा पनि क्षति पुगेकाले अरबौको क्षति पूर्वका उद्योगीले बेहोर्नु परेको उनको भनाइ छ ।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टिल, कर्कट पाता, प्लास्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् । इँटा उद्योगहरू पनि यही क्षेत्रमा पर्छ । अहिले सबैजसो उद्योगमा बाढी पसेर क्षति पुगेको व्यवसायीले बताएका छन् ।