काठमाडौं । विद्युत नियमन आयोगले २० युनिटसम्म बिजुली निःशुल्क गरेको छ । विशेष गरेर विपन्न नागरिकहरुलाई लक्षित गरि २० युनिटसम्म प्रयोग गर्ने उपभोक्ताका लागि महशुल घटाएको हो । यस अघि १० युनिटसम्म निःशुल्क गरिएको थियो । २० युनिट बिजुली खपत गर्ने ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ ।
आयोगले बुधबार पत्रकार सम्मेलन गरि मंसिरदेखि लागू हुने गरि विद्युत शुल्क घटाएको हो । आयोगले ग्राहस्थ्य स्तरमा विद्युत उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ्य वर्गको महसुलमा औसतमा २.८४ प्रतिशत ले घटाइएको छ ।
सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पिएर, १५ एम्पिएर र ३० एम्पिएरका ग्राहस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँ घटाएर क्रमश १००,१२५ र १५० कामय गरिएको छ ।
यसैगरी सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, ३० एम्पिएर र ६० एम्पिएरका ग्राहस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ रुपैयाँले घटौती गरी क्रमश १५०, १७५,२०० र २५० रुपैयाँ कायम गरिएको छ ।
विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पिएरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ्य वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी निर्णय गरिएको छ ।
यसैगरी सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट ९.५० पैसा कायम गरिएको छ ।
सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ्य वर्गका उपभोक्ताको इनर्जी प्रति युनिट १ रुपैया घटाई प्रति युनिट ११ रुपैयाँ कायम गरिएको छ ।
विद्युत खपत वृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्ने सरकारको नीति अनुरुप सिंङ्गल फेजबाट आपूर्र्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ्य वर्गका उपभोक्ताका लागि विद्युतिय चुलो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साबिकको भन्दा कम महसुल हुने गरी महसुल दर निर्धारण गरिएको छ ।
थ्री फेजबाट विद्युत आपूर्ति लिने ग्राहस्थ्य वर्गका उपभोक्ताको हकमा असारदेखि कात्तिकसम्म वर्षयामको महसुल दर र मंङसिरदेखि जेठसम्म सुख्खा यामको महसुल दर हुने गरी मौसमी दर कायम गरिएको छ ।
थ्री फेज तल्लो भोल्टेज (२३०/४०० भोल्ट) बाट आपूर्ति लिने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट १ रुपैयाँले घटाई प्रति युनिट १० रुपैयाँ ५० पैसा काम गरिएको छ भने मासिक ४०० भन्दा बढी युनिट विद्युत खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रति युनिट १ रुपैयाँ ५० पैसा र सुख्खा यामको इनर्जी शुल्क ५० पैसाले घटाई प्रति युनिट ११ रुपैया ५० पैसा कायम गरिएको छ ।
विद्युत प्राधिकरणको ३ अर्ब ३२ करोड रुपैयाँ बराबरको खर्च कटौति गरेर महसुलमा छुट दिइएको समेत आयोगले जनाएको छ । प्राधिकरणले वार्षिक २६ अर्ब खर्च गर्दै आएको छ। हाल प्राधिकरणको कुल ग्राहक ४९ लाख ७९ हजार ४९६ र पाच एम्पिएरसम्म विद्युत प्रयोग गर्नेको संख्या १९ लाख ८६ हजार रहेका छन् ।