काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बिदाइ अभिवादन गरे । प्रधानमन्त्रीको बिदाइका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि लागि विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन । उनले वल्र्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी नोभेम्बर २ को बिहान बेलायतका प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ मा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गर्नेछन् । उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्ने भएका छन् ।
बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (पीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने छन् । उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्नेछन।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी छन् । यही कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस