काठमाडौं। नेपालको आर्थिक स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (२०८२ साउन) को आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी मुद्रा सञ्चिति बलियो भएको र निर्यातमा उत्साहजनक वृद्धि भएको छ।
केन्द्रीय बैंकका अनुसार वार्षिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.०९ प्रतिशत रहेको थियो। यसले मुद्रास्फीतिमा उल्लेखनीय कमी आएको संकेत गर्छ।
यस्तै, देशको कुल विदेशी विनिमय सञ्चिति रु. २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २० अर्ब ३ करोड रहेको छ। प्रतिवेदनअनुसार यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भएर २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ।
समीक्षा अवधिमा चालू खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो। शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो।
निर्यात र आयातमा उल्लेखनीय वृद्धि
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएर २३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ। कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भएर रु. १४३ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा ०.६ प्रतिशतले कमी आएको थियो।
रेमिट्यान्समा वृद्धि
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९.९ प्रतिशतले र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ। २०८२ साउन महिनाको विप्रेषण आप्रवाह रु. १७७ अर्ब ४१ करोड रहेको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भएर १ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।
खाद्य पदार्थको मुद्रास्फीति ऋणात्मक
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक २.२८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.१७ प्रतिशत र २.९४ प्रतिशत रहेको थियो।
तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क १०.९७ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ। तरकारी उप-समूहको वार्षिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ।
सरकारी वित्त स्थिति
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाल सरकारको कुल खर्च रु. ४६ अर्ब ३१ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च रु. १८ अर्ब ४८ करोड, पुँजीगत खर्च रु. ७३ करोड र वित्तीय व्यवस्था खर्च रु. २७ अर्ब १० करोड रहेको छ।
नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकमसमेत) रु. ८४ अर्ब ४७ करोड पुगेको छ। यस अन्तर्गत कर राजस्व रु. ८० अर्ब ६७ करोड र गैर कर राजस्व रु. ३ अर्ब ८० करोड परिचालन भएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. ५५ अर्ब ७९ करोड (०.८ प्रतिशत) ले घटेर रु. ७२०८ अर्ब ९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. ४३ अर्ब ४५ करोड (०.७ प्रतिशत) ले घटेको थियो।
वार्षिक आधारमा २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर रु. ५९७५ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको थियो।
ब्याजदरमा कमी
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१-दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशत रहेको छ।
सेयर बजारमा सुधार
२०८२ साउन मसान्तमा नेप्से सूचकाङ्क २७८८.३६ कायम भएको छ। २०८१ साउन मसान्तमा यस्तो सूचकाङ्क ३०००.८१ रहेको थियो।सेयर बजार पूँजीकरण रु. ४६५६ अर्ब २७ करोड कायम भएको छ। २०८१ साउन मसान्तमा बजार पूँजीकरण रु. ४७६५ अर्ब ९१ करोड रहेको थियो।
समग्रमा नेपालको आर्थिक अवस्था स्थिर र सुधारोन्मुख देखिएको छ। मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी मुद्रा सञ्चिति बलियो भएको र चालू खाता बचतमा रहेकोले देशको बाह्य क्षेत्रको स्थिति सन्तोषजनक देखिएको छ।
विशेषगरी निर्यातमा आएको उल्लेखनीय वृद्धि र रेमिट्यान्स प्रवाहमा भएको सुधारले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको छ। खाद्य पदार्थको मुद्रास्फीति ऋणात्मक रहेकोले उपभोक्ताहरूलाई राहत मिलेको छ। तथापि, बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहमा आएको मन्दीलाई सम्बोधन गर्न आवश्यक देखिएको छ।