विराटनगर । जनगणना २०७८ मा साढे ४ अर्ब रुपैयाँ खर्च हुने भएको छ । तथ्यांक विभागका निर्देशक केशव गौतमले जनगणना सम्पन्न गर्न ४ अर्ब ५० करोड खर्च हुने जानकारी दिए ।
उनका अनुसार तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरण अन्तर्गतको कार्यक्रम अघि बढाएको छ । पहिलो चरणमा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको विभागले अब मूल गणनाको चरणमा प्रवेश गरेको गौतमले जानकारी दिए ।
तथ्यांक विभागसँगको सहकार्यमा मिडिया एक्सनले पत्रकारहरूको लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा विभागका निर्देशक गौतमले प्रदेश नं. १ मा गणकहरूको लागि प्रशिक्षणको काम शुरू भएको बताए । पहिलो चरणमा घरपरिवार सूचीकरण भइसकेकाले अब बास्तविक गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने उनले बताए ।
जनगणनाका लागि १३ दिन बाँकी रहेकाले त्यसको लागि थप प्रक्रिया शुरू भएको छ । विगतको जनसंख्यालाई मध्यनजर गर्दै तुलानात्मक रुपमा तथ्यांक विभागले करिब ७० लाख परिवारको अनुमानित ३ करोड भन्दा बढी जनसंख्या ०७८ को जनगणनाको तथ्यांकमा देखिने उनले बताए । विगत ५ बर्षले जनगणनाको तयारी रहेको विभागले अहिले केही नयाँ विधि मार्फत गणना गर्ने र यसबाट सहि तथ्यांक आउने गौतमले जानकारी दिए ।
प्रदेश नं. १ जनगणना कार्यालयका प्रमुख तीर्थराज बरालले तथ्यांक विभाग गणनाको तयारीमा रहेको बताए । उनले प्रदेश नं. १ मा शनिवारदेखि गणकको लागि तालिम दिइने बताए । देशभरी ३९ हजार गणक नागरिकको घरसम्म पुग्नेछन् ।
जनगणनाको लागि जिल्लाहरूमा जनगणना कार्यालयले काम गरिरहेको बरालले जानकारी दिए । झापा, मोरङ र सुनसरी जिल्लामा २÷२ वटा कार्यालय स्थापना भएको र त्यसबाहेक अन्य जिल्लामा एउटा कार्यालयले काम गर्ने बताए ।
जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्रमा जिल्ला समन्वय समिति अध्यक्ष रहनेछन् । यस्तै सदस्यहरूमा नगरपालिकाका मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जिल्ला जनगणना अधिकारी रूपमा रहनेछन् ।
राष्ट्रिय जनगणनाको प्रश्नावलीहरूमा घर तथा घरपरिवार लागत सूचीकरणका २५ प्रश्न र मुख्य प्रश्नावलीमा ५५ प्रश्न संख्यासहित सामूदायिक प्रश्नावली वडास्तरीय रहने जनाइएको छ । यस वर्षको घरपरिवार सूचीकरण वैशाख र जनगणना जेठमा गर्ने भनिए पनि कोभिडका कारण ढिला भएको थियो