काठमाडौं । रोजगारीका लागि विदेश जाने यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिने पीसीआर परिक्षणमा लुट मच्याउने कम्पनीहरु माथि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डण्डा चलाएका छन् ।
यात्रुहरुको पीसीआर परिक्षण गराउँदा २ हजार रुपैयाँ लिने गरेको गुनासो बढेसँगै पर्यटनमन्त्री आलेले शुक्रबार साँझ विमानस्थलमा छड्के चेक गर्दा महंगो शुल्क लिएको प्रमाण भेटेपछि तत्कालै घटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए ।
पर्यटनमन्त्री आलेको निर्देशनसँगै आइतबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीलाई पत्र पठाउँदै बढीमा १ हजार २ सयसम्ममा पीसीआर परीक्षण गराउने व्यवस्था गराउन पत्राचार गरेका छन् ।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले पर्यटन मन्त्रीको निर्देशनअनुसार पीसीआर परीक्षणमा यात्रुहरुलाई सर्भसुलभ दरमा गर्ने व्यवस्थाका लागि समन्वय गरिदिन विमानस्थललाई पत्राचार गरिएको जानकारी दिए ।
‘पर्यटन मन्त्री ज्यूको निर्देशन अनुसार पत्राचार गरेका छौं, महानिर्देशक क्षेत्रीले भने, अव आइन्दा तोकेको मूल्य भन्दा बढी मूल्य लिएको पाइएमा कारवाही गर्छौ’ ।
वीर अस्पताल लगाएतका अन्य अस्पतालहरुमा १ हजार रुपैयाँमै पीसीआर परिक्षण गराइरहेको बेला विमानस्थलमा भने यात्रुहरुबाट चर्को शुल्क लिएको भन्दै प्राधिकरणले तोकेको मूल्यमा गुणस्तरीय परीक्षणका लागि समेत स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिइएको उनको भनाई छ । विमानस्थलमा हाल ६ वटा स्वास्थ्य कम्पनीहरुले पीसीआर परीक्षण गराउँदै आएको छ ।
रोजगारदाता मुलुकहरुले २४ घण्टा भित्रको पीसीआर परिक्षणको रिपोर्ट अनिवार्य गरेसँगै विमानस्थल परिसरमै परिक्षणको प्रबन्ध गरिए पनि महंगो शुल्क लिएको भन्दै लामो समयदेखि जनगुनासो बढीरहेको थियो ।