विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कुल ४१ करोड ६१ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
कोसी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा ३ हजार ३७० मिटर कटान गर्दा १६ करोड ८६ लाख रूपैयाँको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा ३ हजार २५० मिटर कटान गरी ८ करोड २५ लाख रूपैयाँ, चिस्याङ खोलामा ३ हजार १५ मिटर कटान गरी १२ करोड ६ लाख र दसबरहा नदीमा १ हजार ११० मिटर कटान गरी ४ करोड ४४ लाख रूपैयाँ बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए।
यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्ने श्रेष्ठले बताए। कोसीसहित ५ नदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जिनियर कृष्ण खतिवडाले बताए।
यसैगरी चालू आवका लागि बक्राहामा ६ स्थानमा ४ करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा १ करोड १ लाख ४ हजार, लोहन्दा नदीमा एक स्थानमा ५० लाख ९७ हजार र दंसबक्राहा नदीमा ८३ लाख ३९ हजार रूपैयाँ बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए।
यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चारस्थानमा र २० शाखाअन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब १० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिए।
बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए । १२ जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, १ हजार ८ सय २५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट तथा झन्डै ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बताइएको छ । रासस