काठमाडौं। पोखरास्थित नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्राइभेट लिमिटेड (मणिपाल) को व्यापार र नाफामा उत्साहजनक सुधार देखिए पनि आन्तरिक वित्तीय व्यवस्थापनमा भने गम्भीर कमजोरी देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २७ करोड रुपैयाँको कारोबार गरेको यो संस्थामा नगद प्रवाहको असन्तुलन र उच्च लाभांश वितरणका कारण वित्तीय जोखिम बढेको हो।
रेटिङ एजेन्सी इक्रा नेपालले मणिपालको १ अर्ब ९४ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘एलबीबी प्लस’ र ५६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फोर प्लस’ रेटिङलाई पुनर्पुष्टि गरेको छ। यो रेटिङले कम्पनीसँग वित्तीय दायित्व पुरा गर्ने मध्यमस्तरको क्षमता रहेको बुझाउँछ। सन् २०२१ मा भारतीय व्यवस्थापन बाहिरिएपछि अटोवेज ग्रुप (करिब ८३ प्रतिशत) र बतास ग्रुप (करिब १७ प्रतिशत) ले यसको स्वामित्व सम्हालिरहेका छन्।
आम्दानीमा उत्साहः ९ महिनामै झन्डै २ अर्बको कारोबार
मणिपालको व्यापारिक ग्राफ पछिल्लो ५ वर्षमा निरन्तर उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ व्यापार गरेको यस संस्थाले सन् २०२४ मा १ अर्ब ८८ करोड ९० लाखको कारोबार गरेको थियो। सन् २०२५ मा आइपुग्दा व्यापार २० प्रतिशतले वृद्धि भई २ अर्ब २७ करोड पुगेको छ। चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिनामै मणिपालले १ अर्ब ८९ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ।
आम्दानी बढ्नुमा मेडिकल कलेजतर्फ एमबीबीएसको सिट संख्या १०० बाट बढेर १२० पुग्नु र विदेशी विद्यार्थीको उच्च आकर्षण हुनु मुख्य कारण हो। विदेशी विद्यार्थीबाट स्वदेशीको तुलनामा ७० प्रतिशतसम्म बढी शुल्क प्राप्त हुने भएकाले यसले नाफामा ठूलो टेवा पु¥याएको छ। साथै, ५०० शय्याको अस्पतालमा बिरामीको चाप र प्रति बिरामी औसत आम्दानीमा भएको सुधारले पनि व्यापारलाई बलियो बनाएको छ।
सन् १९९४ मा स्थापना भएको मणिपाल नेपालको निजी क्षेत्रकै जेठो मेडिकल कलेजमध्ये एक हो। सन् २०२१ मा भारतीय मणिपाल ग्रुप बाहिरिएपछि यसको ८३ प्रतिशत सेयर अटोवेज ग्रुप र १७ प्रतिशत सेयर बतास ग्रुपले खरिद गरेका थिए। कास्कीको पोखरामा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको यसको पूर्वाधार र स्थापित ब्राण्ड नेम यसका प्रमुख सबल पक्ष हुन्।
अग्रिम शुल्क दुरुपयोग र तरलताको संकट
व्यापारिक सफलताका बाबजुद कलेजको आन्तरिक वित्तीय अनुशासनमा भने गम्भीर प्रश्न उठेको छ। विशेषगरी विद्यार्थीहरूबाट शैक्षिक सत्रको सुरुमै संकलन गरिने अग्रिम शुल्कलाई कलेजले दीर्घकालीन पूँजीगत खर्च (भवन निर्माण र उपकरण खरिद) मा उपयोग गर्ने गरेको छ।
शैक्षिक शुल्क वर्षको एकै टक संकलन हुने तर अस्पताल र कलेजको खर्च वर्षभरि भइरहने हुँदा, उक्त रकम अचल सम्पत्तिमा फसाउँदा दैनिक सञ्चालनका लागि नगद अभाव हुने जोखिम छ। यसलाई वित्तीय भाषामा ‘एसेट–लायबिलिटी मिसम्याच’ भनिन्छ, जसले संस्थाको तरलता अवस्थालाई जुनसुकै बेला संकटमा पु¥याउन सक्छ।
मणिपालका लागि अर्को ठूलो चुनौती यसको उच्च लाभांश वितरण गर्ने नीति बनेको छ। कम्पनीले अर्बौँको पूँजीगत खर्च गरिरहेको र तरलता अवस्था सामान्य मात्र रहेको अवस्थामा पनि आर्थिक वर्ष २०२४ मा ४८ प्रतिशत र २०२५ मा ४६ प्रतिशत नाफा लाभांशका रूपमा संस्थापकहरूलाई बाँडेको छ। संस्थालाई थप मजबुत बनाउन नाफालाई सञ्चित गर्नुको साटो ठूलो हिस्सा लाभांशमा लैजाँदा भविष्यमा हुन सक्ने वित्तीय झट्का सामना गर्ने क्षमतामा ह्रास आउने रेटिङ रिपोर्टमा उल्लेख छ।
यसका अतिरिक्त, नेपाल सरकारको स्वास्थ्य बीमा योजनावापत पाउनुपर्ने ठूलो रकम भुक्तानी हुन ढिलाइ हुँदा कार्यशील पूँजीमा थप चाप परेको छ। सन् २०२६ को ९ महिनामा कार्यशील पूँजीको सञ्चालन आम्दानीसँगको अनुपात माइनस ५६ प्रतिशत पुग्नुले संस्था नगद व्यवस्थापनमा कति दबाबमा छ भन्ने स्पष्ट पार्छ।
ब्रान्ड नेम र बजार प्रतिस्पर्धाको चुनौती
भारतीय प्रवर्द्धक बाहिरिएपछि अहिले ‘मणिपाल’ ब्राण्ड नेमको प्रयोगलाई लिएर पनि अन्यौल देखिएको छ। यदि भविष्यमा यो नाम प्रयोग गर्न रोकिएमा स्वदेशी तथा विदेशी विद्यार्थीको भर्ना दरमा असर पर्न सक्छ।
त्यस्तै, गण्डकी प्रदेशमा खुल्दै गरेका नयाँ आधुनिक अस्पताल र सरकारी अस्पतालहरूको स्तरोन्नतिका कारण मणिपालले चर्को प्रतिस्पर्धा खेप्नुपरेको छ। चिकित्सा शिक्षा आयोगले तोक्ने शुल्कको सीमाले गर्दा पनि कलेजले लागत वृद्धिको अनुपातमा शुल्क बढाउन पाएको छैन।
१० हेक्टरमा फैलिएको विशाल पूर्वाधार र १ अर्ब ९४ करोडको सुरक्षित बैंक ऋणका कारण मणिपालको बाहिरी आवरण मजबुत देखिए पनि आन्तरिक रूपमा भने यसले वित्तीय अनुशासन कायम गर्नुपर्ने चुनौती रहेको रिपोर्टमा उल्लेख छ। आगामी दिनमा कम्पनीले कसरी आफ्नो तरलता व्यवस्थापन गर्छ र लाभांश वितरणलाई सन्तुलित राख्छ भन्ने कुराले नै यसको व्यावसायिक भविष्य निर्धारण गर्ने देखिन्छ।