झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ४ अर्ब १९ करोड ६० लाख ६ हजार रूपैयाँ बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख ५ हजार रुपैयाँको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र साहूले बताए।
उनले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) १ अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपैयाँ, भटमासकै दाना (तेलका लागि) १ अर्ब ६ करोड ४३ लाख ६४ हजार रुपैयाँको बङ्लादेशबाट आयात भएको बताए ।
मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ ।
उनका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र ८ करोड ११ लाख ६४ हजार रुपैयाँको चामल आयात भएको छ । तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्याङ्कमा १६ करोड ३७ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ । रासस