काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । शनिबार निर्माणाधीन विमानस्थलको निरीक्षण गर्न पोखरा पुगेका मन्त्री शर्माले सरकारको तर्फबाट गर्ने सहयोगमा ढिलाइ नहुनेभन्दै चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
‘काम छिटो सकेर उडान सञ्चालन गर्नका लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाइ हुँदैन । निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुपर्यो ।’ मन्त्री शर्माले भने, ‘सरकारले कुनै नीतिगत निर्णय गर्नुपर्ने वा बजेट व्यवस्था गर्नुपर्ने छ भने भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’
हालसम्म भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको विमानस्थल सम्पन्न गर्नुपर्ने म्याद आगामी २०७९ असार मसान्तसम्म रहेको आयोजनाले जनाएको छ ।
निर्माण कार्यमा देखिएका विभिन्न समस्याका कारण प्रगति उल्यख्य मात्रामा नभएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार ल्याण्डिङ एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । तर, वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाइ भएको छ । त्यसको लागि भर्खरै मात्र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको छ ।
यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ किलोमिटर उत्तरमा रहेको ल्यान्डफिल साइड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान सञ्चालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ ।
‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबीच सम्झौता भएको हो ।
चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा ३ वटा अन्तर्राष्ट्रिय र ८ वटा आन्तरिक विमानहरु पार्किङ गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि वि.सं. २०३२ सालमै ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३ हजार ८९९ रोपनी रहेको छ । निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।