काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर्मचारीले ‘समाजवाद उन्मुख अर्थतन्त्र’का बारे जान्नुपर्ने बताएका छन् । आइतबार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ ? सो कुरा कर्मचारीले जान्नु पर्ने बताएका हुन् ।
‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ, समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो’, उनले तालिममा सहभागी अधिकृत कर्मचारीलाई भने, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ ? भन्ने कुरा जान्नुपर्छ ।
कस्तो कर प्रणाली, राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’ साथै संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि पनि मन्त्री शर्माले जोड दिएका छन् ।
उनले नेपालको संविधान राजनीतिज्ञ, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको बताए । त्यस्तै समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागु गर्नुपर्नेमा समेत मन्त्री शर्माले जोड दिँदै व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नुपर्ने बताएका छन् ।
कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उक्त विषय प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उनको भनाइ छ ।
मन्त्री शर्माले भने, ‘आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ । कर बुझाउनलाई ताकेता नगर्दै स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’
मुलुकमा विभिन्न आन्दोलनबाट परिवर्तन आएपनि व्यवहारत कार्यान्वयन गर्न संक्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गरेका छन् ।
साथै परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने मन्त्री शर्माले बताए । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उनको भनाइ छ । आइतबारबाट सुरु तालिम पुस ९ गतेसम्म चल्नेछ ।