काठमाडौं । रेडक्रसको पूर्वकेन्द्रीय समितिको विशेष महाधिवेशनका सहभागी सभासदहरूले छुट्टै भेला गरेका छन् । वर्तमान तदर्थ केन्द्रीय समितिले विधानविपरीत काम गरेको भन्दै अधिकांश सभासदहरुले छुट्टै भेला गरेका हुन् ।
केन्द्रय समितिले आइतबारदेखि काठमाडौंमा आयोजना गरेको विशेष महाधिवेशन अवैध रुपमा गर्न खोजिएको भन्दै विरोध गरिएको थियो । विरोधका कारण विशेष महाधिवेशन स्थगित भएको थियो ।
आन्दोलनरत सभासदको भेलापश्चात् गरिएको पत्रकार सम्मेलनमा बोल्दै रेडक्रसका पूर्वकेन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐरले आफूहरूले विधान महाधिवेशनलाई नियमित प्रक्रिया भनेर स्विकारेको भए पनि समन्वय बिना अवैध तरिकाले तदर्थ समितिको स्वार्थ पूर्तिका लागि विशेष महाधिवेशन राखिएको कारण विरोध गरिएको बताए ।
साथै सो भेलाले ७ वटा निर्णय गरेको र सोही निर्णयअनुसार अबका कार्यक्रम अगाडि बढ्ने उनको भनाइ छ । भेलाले केन्द्रीय समितिलाई विधानविपरीत विघटन भएका २२ जिल्ला शाखा र २ प्रदेश समितिको विघटनको निर्णय खारेज गर्न निर्देशन दिएको बताइएको छ ।
‘समाज कल्याण परिषदले दैनिक काम मात्र गर्नु भनेर निर्देशन दिएको भए पनि अनैतिक र अवैध तरिकाले नेपाल सरकारको निर्देशनविपरीत काम नगर्न केन्द्रीय समितिलाई सचेत गराएका छौं’, उनले भने, ‘उच्च अदालत वीरगञ्जको इजलासले गरेको फैसला अनुरुप विघटन गरिएका जिल्लाका निर्वाचित कार्यसमितिलाई पूर्ववत अवस्थामा काम गर्न निर्देशन गर्ने निर्णय गरिएको छ।’
त्यस्तै वर्तमान समस्या समाधान गर्नका लागि सरकारलाई उपयुक्त कदम चाल्न अनुरोध गर्ने र अध्यादेशमार्फत रेडक्रस ऐन जारी गर्न आग्रह गर्ने ऐरीले बताए ।
गत असोज २३ मा वार्षिक साधारणसभाको नाममा अधिकांश जिल्ला शाखाको प्रतिनिधिको अनुपस्थितिमा नक्कली प्रतिनिधि खडा गरी भर्चुअल भेला राख्ने र उल्टो सहभागी नहुने जिल्लालाई स्पष्टीकरण सोध्ने काम भएको त्यसलाई खारेज गर्ने निर्णय गरिएको हो ।
साथै तदर्थ समितिले सुरुदेखि नै विधानविपरीत काम गरेको र विधानमा व्यवस्था नभएको पदाधिकारी बैठकका नाममा अवैध तरिकाले निर्णय गरिएको आरोपसमेत लगाएका छन् ।