काठमाडौं । देशको भुक्तानी सन्तुलन बिग्रिँदै गएपछि सरकारले गाडी, सुन, चाँदीलगायत विलासी वस्तुको आयात रोक्ने विषयमा छलफल सुरु गरेको छ । आवश्यक नभएका र महँगा सामग्री आयात गर्दा विदेशी मुद्रामा ठूलो दबाब परेपछि केही समयका लागि विलासी वस्तुको आयात रोक्ने विषयमा छलफल भइरहेको हो ।
अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस विषयमा निरन्तर छलफल गरिरहेका छन् । अहिले विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ ।
रेमिट्यान्स घट्दोक्रममा रहेकाले आगामी दिनमा अत्यावश्यक वस्तुसमेत खरिद गर्न रकम अभाव हुन सक्ने आँकलन गरेर विलासी वस्तुको आयातमा कडाई गर्न लागिएको हो ।
लगातार तीन दिनदेखि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच देशको अर्थतन्त्रमा देखिएको चुनौति र त्यसका समाधानका उपायमाथि छलफल चलिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
अर्थमन्त्रीले गभर्नर अधिकारीलाई उत्पादनमुलक क्षेत्रमा मात्रै कर्जा प्रवाह गराउने वातावरण मिलाउन भनिरहेका छन् । त्यसका अलवा विलासी वस्तुको आयातलाई केही समय रोकेर भुक्तानी सन्तुलनमा परेको चापलाई कम गर्न केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरुले समेत गभर्नर अधिकारी र अर्थ मन्त्रालयका अधिकारीहरुलाई सुझाइरहेका छन् ।
अहिले नेपालको शोधनान्तर घाटा ८३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो ठूलो चिन्ताको विषय रहेको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । शोधनान्तर स्थितिलाई सन्तुलनमा ल्याउन तत्कालै विलासी वस्तुको आयात रोक्नुपर्ने उनीहरुको सुझाव छ ।
विलासी वस्तुमा उठेको राजस्वबाट देश चलेको छ । एकैपकट बढी राजस्व संकलन हुने क्षेत्रमा पूर्ण प्रतिबन्ध लगाउने वित्तिकै राजस्व उठ्तीमा समस्या उत्पन्न हुन्छ ।