काठमाडौं । देशको शोधनान्तर स्थिति ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको तथ्यांक सार्वजनिक भएको छ । यो तीन महिनाको तथ्यांक हो । साउन र भदौमा शोधनान्तर स्थिति ८३ अर्ब घाटामा थियो । त्यो घटेर ७६ अर्बमा आइपुगेको हो ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको देशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई विश्लेषण गर्दा अझै अर्थतन्त्र सही दिशामा आउन नसकेको पाइएको हो ।
असोजमा पनि रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले कमी आएको छ । अहिलेसम्म २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।
गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको थियो । अहिले ७६ अर्ब घाटामा छ । केन्द्रीय बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ७० करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको थियो । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ । भदौमा तुलनामा असोजमा विदेशी मुद्राको सञ्चितिमा केही सुधार देखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई ३ खर्ब १४ अर्ब ५२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १ खर्ब ७४ अर्ब ३ करोड पुगेको छ ।
२०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७८ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.९ प्रतिशत, ६४.७ प्रतिशत र २५.१ प्रतिशत छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।