काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा १ खर्ब ७ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बचत भएको छ । चालू आर्थिक वर्षमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्त भई ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख रुपैयाँ भुक्तानी हुँदा १ खर्ब ७ अर्ब बढी बचत भएको हो ।
महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनअनुसार सरकारको राजस्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ ।
कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । त्यसमा ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख राजस्व संकलन भएको हो ।
प्रतिवेदनअनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको हो ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को कुल खर्चमा सरकारको स्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत वैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३ दशमलव ४ प्रतिशत र ऋणको हिस्सा १४ दशमलव ६४ प्रतिशत रहेको छ ।
प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजश्व संकलन र बेरुजु फछ्र्योटमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान गएको बताए । विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्ने उनको भनाइ छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्यालले आव २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन मन्त्रीसमक्ष पेश गरेका हुन् ।