काठमाडौं । कोसी करिडोर प्रसारण लाइनको ७० प्रतिशत काम सकिएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको प्रसारण लाइनको काम तीव्र रुपमा अघि बढेको हो ।
यसअघि धरान क्षेत्रमा प्रसारण लाइन निर्माणमा देखिएको अवरोध फुकेपछि भने प्रसारण लाइनको कामले गति लिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । सुनसरीको इनरुवादेखि सङ्खुवासभाको टुङ्लिङ्टारसम्म झन्डै ३२० ओटा टावर निर्माण गर्नुपर्छ । अधिकांश टावर निर्माण गर्ने काम भइरहेको उनले बताए । फाउन्डेसनको काम सकिएको छ भने टावर ठड्याउन काम पनि तीव्र रुपमा अघि बढेको छ ।
अधिकांश वन क्षेत्र पर्ने भएकाले निर्माण अगाडि बढाउन केही समस्या भए पनि प्रगति सन्तोषजनक नै रहेको ढकालले बताए । प्रसारण लाइन १०५ किलोमिटर लम्बाइको छ ।
कुल ८ अर्ब रुपैँयाको लागतमा निर्माणाधीन उक्त प्रसारण लाइन निर्माणपछि १ हजार मेगावाटभन्दा बढीका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइन निर्माणका लागि मात्रै ३ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ । फाउन्डेसन, जग्गा, बेस निर्माण, यन्त्र उपकरणसहित ८ अर्ब रुपैयाँभित्रै आयोजना सम्पन्न गरिने ढकालले बताए ।
त्यहाँका साना—ठूला २० ओटा आयोजनाहरुको विद्युत् यसै करिडोरमा जोडिने छ । डेढ वर्षभित्र निर्माणका क्रममा रहेका मायाखोला, हेवाखोलालगायत १५० मेगावाटका जलविद्युत् आयोजना छन् ।
करिडोरअन्तर्गत २२० केभी क्षमताका ४ ओटा सबस्टेसन निर्माणाधीन छन् । बानेश्वर, बसन्तपुर, इनरुवा र तुङ्लिङटार सबस्टेसन निर्माण भएपछि प्रसारण लाइन चार्ज हुनेछ ।
निर्माण सामग्रीको अभाव टड्कारो
आयोजनामा अहिले सबैभन्दा ठूलो समस्याका रुपमा निर्माणजन्य सामग्री छ । त्यस क्षेत्रमा निर्माणजन्य उद्योग तथा क्रसर उद्योग अहिले बन्द हुँदा ढुङ्गा, बालुवा र गिट्टीको आपूर्तिमा समस्या भएको छ । नजिकका क्रसर उद्योग बन्द हुँदा आवश्यक निर्माण सामग्री इटहरीबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । जसका कारण, लागत ७ गुणा बढ्ने आयोजना प्रमुख ढकालको तर्क छ ।
‘यहाँका क्रसर उद्योग अहिले बन्द हुँदा गिट्टी, ढुङ्गा र बालुवाको आपूर्तिमा ठूलो समस्या छ,’ उनले भने, ‘इटहरीका क्रसर उद्योगबाट ८÷१० हजारका निर्माण सामग्री यहाँ ल्याउँदा ७० हजारभन्दा बढी लागत लाग्छ ।’