काठमाडौं । कोभिड संक्रमण कम हुँदै गएपछि उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार देखिएको छ । चालू आर्थिक वर्षको कात्तिकसम्म उद्योग व्यवसाय सञ्चालन बढेर औसत ८७.२ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको जानकारी गराएको छ ।
गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा सुधार आई २.३ प्रतिशत उद्योग/व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको जनाएको छ ।

यस्तै उद्योगहरुको उत्पादन तथा कारोबारमा सुधार आएको छ । कोभिड महामारी कम भएपछि उत्पादन बढेर औसत ७४.७ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
२०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेको थियो । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ ।
तर, होटल तथा रेष्टुराँ क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको छ । गत असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ । कोभिड महामारी आउनु अगाडिको अवस्थामा अझै उत्पादन/कारोबार पुगिनसकेको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ ।
कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।
उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ ।
कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको छ । खानी तथा उत्खनन र विद्युत, ग्याँस तथा पानीलगायत क्षेत्रका उद्योग÷व्यवसायहरुको औसत तलब-ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको छ ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले बजार माग नबढ्नाले कारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकोले कठिनाइ भएको जस्ता समस्याहरुलाई प्राथमिकतामा राखेका छन् ।
सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिडका कारण बजार माग घटेको, चालू खर्च धान्न समस्या रहेको र श्रमिकसँग सम्बन्धित समस्याको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले उद्योग/व्यवसाय बिक्री गरेको बताएका छन् । केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् ।
सर्वेक्षण नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ ।

अझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भए तापनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ ।
कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमण विरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थान उन्मुख रहेको राष्ट्र बैंकले जनाएको छ ।