नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजस्व असुली गरेको छ ।
कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालू आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा १ अर्ब ९४ करोड ८९ लाख ५ हजार रूपैयाँ बढी राजस्व असुली गरेको हो ।
कार्यालयले कात्तिक मसान्तसम्म ५ अर्ब ८१ करोड ४२ लाख ६६ हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकामा ७ अर्ब ७६ करोड ३१ लाख ७१ हजार रूपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिए ।
कार्यालयले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा १३३ दशमलव ५२ प्रतिशतले हुन आउने उनले बताए। कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा असुली गरेको छ ।
प्रथम चौमासिकमा अन्तःशुल्क शीर्षकमा ५ अर्ब ५६ करोड ५२ लाख ४८ हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले ७ अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको अधिकारीले बताए ।
त्यस्तै कार्यालयलले आयकर शीर्षकमा १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा ९ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा १ करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा १ करोड ८ लाख ७० हजार, घरबहाल कर शीर्षकमा ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा ६३ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुलनामा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्तःशुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ ।
त्यसैगरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेको अधिकारीले बताए। कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत मात्रै प्रगति हासिल गरेको अधिकारीले बताए।
आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो । रासस