काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल गर्न सकिने दाबी गरेका छन् । संसदको अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।
आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए । अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए । अर्थतन्त्र चुनौतीरहित कहिल्यै हुँदैन । सधैं चुनौतीपूर्ण नै हुन्छ ।
अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो, शर्माले भने हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।
अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वाभाविक रुपमा लिएको उनले बताए । यो आलोचना आफ्ना लागि गरेर देखाउने चुनौतीका रुपमा लिएको उनले बताएका छन् । को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ शर्माले भने, मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै सुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ । प्रतिकूल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।
अर्थमन्त्री शर्माले कर्जा प्रवाह ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग सञ्चालनमा आउनु र मुद्रास्फीति पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए । मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए ।
अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको छ,’ शर्माले भने । तर, अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४० करोड र विश्व बैंकबाट ३० करोड अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले सुनाए । अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए ।
ठूलो संकट छैन । समाधानको अवस्थाभित्रै छन् । यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन । खर्चको व्यवस्थापनमा सघाउने हो । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौ्ं शर्माले भने ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा वस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६ ७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्ब रुपैयाँमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्।